निरोज चौलागाईं
सिन्धुपाल्चोकको प्रख्यात र चर्चित पर्यटकीय गन्तव्य हो– सुनकोसी । यही नदि किनारमा संचालित एक रिसोर्टले वन र बगर अतिक्रमण गरेको पाइएको छ ।
सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ९ कदमबासमा संचालित सुकुटे विच रिसोर्टले ३२ रोपनीभन्दा बढी सरकारी वन र वगर अतिक्रमण गरेको फेला परेको छ ।
विगत २५ वर्षदेखि संचालनमा रहेको सुकुटे ‘विच’ रिसोर्टको नाममा जम्मा चार रोपनी मात्रै छ । तर, रिसोर्ट भने ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ । उसले अहिले पनि जग्गा भोगचलन गरेवापत भाडा दिएको छैन । रिसोर्ट संचालित भएको क्षेत्र वन क्षेत्र भित्र पर्छ । वन क्षेत्र भित्र बनेको अवैध संरचना हटाउने काम जिल्ला स्थित डिभिजन बन प्रमुखको हो । तर, जिल्ला स्थित डिभिजन वन प्रमुख भने बेखबर जस्तै बनेर रिसोर्ट संचालकहरुलाई रजाइँ गर्न दिइरहेका छन् तर दुबै निकाय मुक दर्शक बनेका छन ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई यो विषय थाहा नभएको होइन । उनी यही बाटो हजारौँ पटक आहोदोहोर गर्छन् । तर, उनी देखे पनि नदेखेजसरी हिँडेका छन् । पछिल्लो समय गृह मन्त्रालयले सरकारी जग्गा हडपे त्यस्ता जग्गा फिर्ता ल्याउन निर्देशन नै दिएपनि परिपालना भएको छैन ।
स्थानिय जनताले विरोध गरेपनि खासै सुनुवाई भएको छैन । तर जिल्ला समन्वय समिती, जिल्ला वन कार्यालय र प्रहरी प्रशासनकै मिलेमतो भएपछि जनताको आवाज दबाईएको स्थानियहरु बताउँछन् । बगर र बनको जग्गा भाडामा दिन कुनै पनि निकायले सार्वजनिक सुचना निकाल्नुपर्छ । त्यतिमात्रै होइन वन क्षेत्रको जग्गा भाडामा लिन पाइँदैन । वन क्षेत्रको जग्गा भाडामा लिन मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्छ । सुकुटे विचका संचालकहरुले त्यो त गराएकै छैनन् ।