चक्रे मिलनको अपराधी पृष्ठभूमि र संलग्नता कहाँ कहाँ

5.2k Shares
काठमाडौं । भक्तपुर प्रहरीले गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने भएको छ । जन्मदिनको पार्टीमा होहल्ला गर्दैगर्दा पक्राउ परेका गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे’ माथि जिल्ला प्रहरी परिसर भक्तपुरले पनि अनुसन्धान गर्ने भएको हो ।
 
भक्तपुर प्रहरीले एक वर्षअगाडिको कुटपिटको घटनामा उनको संलग्नता पुष्टि भएपछि कानुनी प्रक्रिया अघि बढाउन लागेको हो । चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो ।
 
पीडित मनिष रायमाझीले ‘डुँडे’ भनी सामाजिक सञ्जालमा टिप्पणी गरेपछि चक्रेले रायमाझीलाई फोनमा धम्क्याएको र त्यसपछिका दिनहरूमा अजित खवास नेतृत्वको समूहले रायमाझीमाथि कुटपिट गरेको उल्लेख छ । आफ्नो भतिजो मनिष रायमाझीलाई २०८१ भदौ १० मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेो बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।
 
मनिषमाथिको कुटपीटमा चक्रेका सहयोग टुकु महाराज भन्ने उत्तम महर्जन पनि संलग्न रहेको खुलेको छ । महर्जन अहिले चक्रेसँगै जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।जावलाखेल बस्ने महर्जनले नै चक्रेको आर्थिक व्यवस्थापनदेखि मुख्य सहयोगिको भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
 
प्रारम्भिक अनुसन्धानमा चक्रे मिलनले आक्रमण गर्न खवासलगायतको समूह परिचालन गरेको खुलेको प्रहरीको भनाइ छ ।सुरुवातमा ठेगाना नखुलेको कारण प्रहरीले मुद्दामा चक्रेलाई प्रतिवादी बनाउन सकेको थिएन । तर हाल उनी प्रहरी हिरासतमा परेपछि उनलाई प्रतिवादी बनाउने प्रक्रिया अघि बढेको हो ।
 
मिलनविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम अभियोगपत्र दायर गरिनेछ। भक्तपुर प्रहरीले काठमाडौंको हिरासतमा रहेका चक्रेलाई भक्तपुर ल्याएर बयान लिने र आवश्यक अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।
 
चक्रे मिलन, जसको नाम विभिन्न आपराधिक क्रियाकलापमा जोडिएको पाइन्छ, उसले विगतदेखि नै आपराधिक पृष्ठभूमि बोकेको देखिन्छ। उसले संलग्न भएका गतिविधिहरू विभिन्न समयहरूमा सार्वजनिक हुँदै आएका छन्।चक्रे मिलनले संगठित आपराधिक गिरोहहरूसँग सम्बन्ध राखेको आरोप लागेको छ। उनले फिरौती, ठगी, अवैध सम्पत्ति सञ्चय तथा हिंसात्मक गतिविधिमा संलग्न रहेको विवरणहरू पनि बाहिर आएका छन्।केही राजनैतिक समूहसँगको निकटताका कारण उनको गतिविधिमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संरक्षण छ।सुरक्षा निकायहरूले चक्रे मिलनमाथि निगरानी राख्दै आएका छन् र विगतमा उनी केहीपटक पक्राउ पनि परेका थिए।
 
चक्रे मिलन कुनैबेला नेकपा एमालेका केही नेताको नाम लिएर राजनीतिक संरक्षण खोज्ने गरेका थिए । आपराधिक पृष्ठभूमि हेर्दा २०५० मै काठमाडौं प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको देखिन्छ । उनी त्यतिबेला धरौटीमा छुटेका थिए । पुनः २०६० मा ज्यान मार्ने उद्योगमै काठमाडौं परिसरबाट मुद्दा चलेको देखिन्छ ।एकैपटक काठमाडौं परिसरले २०६४ वैशाख १२ गते चक्रेविरुद्ध कर्तव्य ज्यान मुद्दा चलेको प्रहरीको क्राइम रेकर्ड सिष्टम (सीआरएस)बाट देखिन्छ । मुद्दा चले पनि राजनीतिक संरक्षण पाएका उनी २०६५ असार २८ गते साधारण तारेखमा छुटेका थिए ।
 
२०६६ असार २८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चक्रेलाई लागुऔषध ओसारपसार तथा बिक्रीवितरणको मुद्दा चलाएको देखिन्छ । उक्त मुद्दामा भने उनी पाँच वर्ष कैद सजाय भुक्तान गरेर छुटेका थिए ।२०६७ फागुन १२ गते धापासीमा बा १ क ५५०० नम्बरको डोजर चालकलाई डोजरभित्र राखेर आगजनी गर्न जेलभित्रै बसेर चक्रेले महत्वपूर्ण भूमिका खेलेको प्रहरीको त्यतिबेलैको अनुसन्धानले देखाएको थियो । २०७९ मा त एमाले गोरखाको क्षेत्र नम्बर २ कमिटीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष चुनाव लड्न चक्रेको समेत नाम सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार