आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

65 Shares

काठमाडौँ  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको हो ।

यसअघि अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो । अस्पतालका चिकित्सकहरूले उनको अवस्थाका बारेमा निश्चित रूपमा केही भन्न नसकिने र जुनसुकै बेला पनि अवस्था बिग्रन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको थियो । आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्‍याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनलाई वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’ मा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो ।नेपालीको उपचारका लागि वीर अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष टोली परिचालन गरेको थियो । उक्त टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए । बिरामीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी समेत गरिएको थियो । तर, स्वास्थ्य अवस्था स्थिर नभएका कारण उनलाई स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो । चिकित्सकहरूको अथक प्रयासका बाबजुद अन्ततः उपचारकै क्रममा उनको निधन भएको हो ।

गत बिहीबार त्रिपुरेश्वरमा  नेपालीले आत्मदाह प्रयास गरेकोबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गतका प्रहरीलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा झिकाइएको छ ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार राहदानी विभाग अगाडिको पार्किङमा नेपालीको बाइकमा ह्वील लक गर्नुअघि के(कस्तो कुरा भएको हो भन्नेबारे बुझ्न उनीहरूलाई बोलाइएको हो ।
बाइकमा ह्वील लक गरेलगत्तै उनले आफ्नो शरीरमा आगो लगाउना साथ त्यहीँ रहेको महानगरपालिका प्रहरीले खासै वास्ता गरेको थिएन । शरीरमा अत्यधिक आगो सल्किएपछि राहदानी विभागको ड्युटीमा रहेका प्रहरी र प्रत्यक्षदर्शीले नेपालीको उद्धार गरेका थिए ।
प्रहरीले महानगरपालिका प्रहरीका दुई महिलासहित पाँच जनालाई सोधपुछका लागि बोलाइएको एसपी भट्टराईले बताए ।

सम्बन्धित समाचार