काठमाडौं । सशस्त्र प्रहरी बलमा बर्तमान महानिरीक्षक राजु अर्यालले बितेका तीन बर्षमा आन्तरिक रूपमा धेरै सुधार त गरे तर हाकिमले घुमुवा परिचालन गरेर तस्करी गराउने र रकम उठाउने अभियान भने रोक्न सकेनन् । उनले दुई बर्ष अघि लामो समयदेखि कार्यरत बदनाम र असुली तथा तस्करीमा सहयोग गर्ने घुमुवाहरूको शुरूमा काज र पछि सरूवा गरेर एउटा अप्रेसन त चलाए । तर अहिले धेरै घुमुवाहरू फेरि त्यही ठाउँमा फर्किसकेका छन् । फर्केका मात्रै होइनन् कि अहिले फेरि घुमुवा भएर परिचालित छन् । यदि उनीहरूलाई त्यही ठाउँमा फिर्ता गर्नु थियो त किन काज र सरूवा गरेर रमिता देखाउने भन्ने जस्ता कुराहरू अहिले संगठन भित्रै उठेका छन् । तर पनि महानिरीक्षक अर्यालले धेरै सुधार गरेको कुरामा बिबाद छैन । राजनीतिक दबाब , संगठनका भुपू तथा बहालवाला सिनियर अफिसरहरूले पनि कतिपय अवस्थामा अर्याललाई दबाब दिएर यस्ता घुमुवा फिर्ता भएको पनि सुनिएको छ । जुन दुर्भाग्य नै हो ।
यसैक्रममा बांकेमा लामो समयदेखि घुमुवा बसेर धेरै बदनाम भएका सहायक हवल्दार जेके ओली केही दिन अगाडि धेरै गुनासो र उजुरी परेपछि कपिलवस्तु स्थित बाहिनीमा तानिएका थिए । उनलाई केही दिनमा नै बाहिनीले जमुनाहा स्थित जैसपुर बिओपीमा पठाएको थियो । बुधबार मात्रै उनलाई बाहिनीको आदेशले ४१ नम्बर स्थित रिजर्भ गणमा पठाएको छ । जुन काम असाध्यै राम्रो भयो ।
अब जेके ओली त गए तर बांके सुधार्ने हो भने अरू धेरैलाई यहाँबाट लखेट्नु पर्ने जरुरी छ । अर्को पठाउनु पर्ने हुन् सहायक हवल्दार किरण भण्डारी । बांके कुसुम नै घर भएर गृह जिल्लामा लामो समयदेखि कार्यरत उनी सशस्त्र महानिरीक्षक राजु अर्यालको घमुवा अप्रेसनमा पनि परेका थिए । घुमुवा भण्डारीको दरबन्दी अप्रेसनमा ४३ नम्बर गणमा भएको थियो । तर खटाएको ठाउँमा जादै नगएर उनको दरबन्दी फेरि ३० नम्बर गण बांके नै भयो । गलत नगर्ने र कसैको सोर्सफोर्स नसुन्ने महानिरीक्षक राजु अर्याललाई कसको दबाब आयो र उनले थेग्न सकेनन् जसको कारण सहायक हवल्दार किरण भण्डारी खटाएको ठाउँमा जादै नगई फेरि पहिलेको दरबन्दीमा नै कायम भएर र घुमुवाको रूपमा परिचालन भैरहन सफल भए । उनी जस्तो भाग्यमानी सायदै सशस्त्र प्रहरीमा कमै होलान् । यिनी अहिले जैसपुर बिओपीमा नै कार्यरत छन् । यिनलाई हेडक्वाटर र भोलि सशस्त्र प्रहरी महानिरीक्षकको दावेदार मानिएका हाल लुम्बिनी प्रदेशका प्रमुख डिआइजी दिपेन्द्र कुंबरले पनि हल्लाउन नसक्ने रहेछन् कि ?
यसबाहेक अर्को घुमुवा पनि जैसपुर बिओपीमा पुगेका छन् । यसअघिका डिआइजी प्रदिप पालले पहिलेदेखि आंफुसंग बसेको भन्दै कोहलपुर स्थित राजश्वमा कार्यरत बरिष्ठ हवल्दार बिन्देश्वर चौधरीलाई बर्दियाको घुमुवाको रूपमा परिचालित गरेका थिए । उनी यसअघि पनि पटकपटक गरेर तीनपटक र यो समेत गरि चारपटक बर्दियामा कार्यरत भैसकेका छन् । जबकि उनले घर पनि बर्दियामा नै हो । केही दिन अघि उनलाई पनि बाहिनीले तानेको थियो । तर एकाध दिनपछि चौधरी बर्दिया त होइन बांकेको भन्सार रहेको बिओपी जैसपुर नै आएका छन् । जबकि उनको दरबन्दी अहिले पनि कपिलवस्तुमा रहेको छ।
त्यसैगरी अहिले कोहलपुर स्थित राजश्व अनुसन्धान बिभागको क्षेत्रिय कार्यालयबाट पनि दुई जना घुमुवाहरू परिचालन गरिएका छन् । हवल्दार हस्त बहादुर खत्री र टीका राज बराल राजश्वबाट खटिएका छन् । राजश्वमा ६÷६ महिनामा परिवर्तन हुने भए पनि हवल्दार टिकाराज बराल विगत दुई बर्ष देखि यहाँ कार्यरत छन् । जबकि उनको दरबन्दी ४२ नम्बर गणमा रहेको छ। तर उनी विगत दुई बर्ष देखि यहाँ राजश्वबाट घुमुवाको रूपमा परिचालित छन् । यसरी बांकेमा सशस्त्र प्रहरी बलका घुमुवाहरूको आंतक नै रहेको छ । एकातर्फ बिभाग घुमुवा परिचालन नगर्ने भनेर बारम्बार परिपत्र गर्छ तर यहाँ भने घुमुवाको खुलेयाम असुली आतंक नै रहेको छ ।