काठमाडौं । बैदेशिक रोजगार विभाग भ्रष्टाचारको अखडा हो भन्ने कुरामा कुनै विवाद छैन । दैनिक लाखौं लाख मात्रै होइन, करोड माथिको भ्रष्टाचार गर्ने अखडा हो । गत साता नवजनप्रहारले बैदेशिक रोजगार विभागमा अख्तियार कहिले पस्ने, व्यक्तिगत शाखामा मात्रै मासिक दुई करोडको घुस संकलन शीर्षकको समाचार प्रकाशित गरेपछि विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले आफू नजिकका केही सञ्चार माध्यममा त्यसको खण्डन गर्ने गरी समाचार लेखाए । तर उनले समाचार लेखाए पनि विभागमा हुने भ्रष्टाचार र घुस असुली खुलेआम भइरहेका छन् । शाखाका कर्मचारीले खुलेआम घुस गरिरहेका छन् र स्वयं महानिर्देशक भट्टराईले गरेको एउटा निर्णयले घुस लिन टेन्डर गरिएको भन्ने कुरालाई पुष्टि गरेको छ ।
गत जेठ १६ गते महानिर्देशक भट्टराईले प्रदेशगत रूपमा रहेका श्रम कार्यालयबाट प्रदान गरिंदै आएको व्यक्तिगत श्रम स्वीकृतिको आइडी बन्द गर्न लगाए । बिना कारण र पूर्व जानकारी एकाएक यसरी आइडी बन्द गरिएपछि टिकट काटेर उड्न तयार भएका व्यक्ति रोकिने भए । जाने कामदारको सबै काम गरिदिने ठेक्का लिएकालाई त गाह्रो हुने नै भयो । यसको असर व्यक्तिगत श्रम स्वीकृति लिने ठेक्का लिने म्यानपावर कम्पनी, ट्राभल्स एजेन्सी र कन्सल्टेन्सीलाई पर्ने नै भयो । किनकि यी निकायले कामदारको टिकटदेखि विभाग र कार्यालयहरूले दिने श्रम स्वीकृतिसम्मको ठेक्का लिने गर्छन् । त्यो काम कर्मचारीको पूर्ण मिलिभगतमा हुने गर्छ । यसरी महानिर्देशकले बन्द गर्न लगाएको आइडी ४ दिनमा एकाएक खोलियो । किन र के कारणले बन्द गरियो र फेरि ४ दिनमा त्यसै किन खोलियो? भन्ने प्रश्नको उत्तर विभागमा कसैसँग छैन । जिम्मेवार कर्मचारीहरू यसबारेमा आफूलाई थाहा नभएको बताउँछन् ।
विभागस्थित हाम्रो समाचार स्रोतले दिएको जानकारी अनुसार अचानक र एकाएक आइडी रोकिएपछि पोखरा स्थित श्रम कार्यालयका शाखा अधिकृत प्रदीप ढकाल काठमाडौं आए । काठमाडौं आएर महानिर्देशक कमल भट्टराई र सचिव कृष्णहरि पुष्करलाई भेटे । प्रदीप ढकालसँगको भेटपछि महानिर्देशक भट्टराईले आइडी खोलिदिए । बन्द गरिँदा र खोल्दाको कुनै कारण खोजिएन । यसको पछाडि मातहतका कार्यालयहरूबाट आउने रकमको लागि लिलाम बढाबढ थियो र रेट बढाउनका लागि हो भन्ने कुरा घामजस्तै छर्लङ्ग छ । प्रति व्यक्ति ५ हजारको दरले व्यक्तिगत शाखामा रकम असुली हुन्छ । बाहिरका कार्यालयहरूमा पनि यही स्थिति रहेको छ । बाहिरका कार्यालयहरू मध्ये पहिलो नम्बरमा पोखरा, दोस्रोमा जनकपुर, तेस्रोमा सुर्खेत व्यक्तिगत स्वीकृतिका हिसाबले घुस असुलीमा उत्कृष्ट मानिन्छन् भने अरू सामान्य । पोखरामा कार्यरत शाखा अधिकृत प्रदीप ढकाल बैदेशिक रोजगार विभागमा लामो समयदेखि कार्यरत विवादास्पद कर्मचारी हुन् । उनी राजनीतिक आडमा नै लामो समयदेखि यहाँ कार्यरत छन् । पछिल्लो समय विभागपछि सबैभन्दा बढी व्यक्तिगत स्वीकृति दिने कार्यालय पोखरा नै हो, जहाँ उनी अहिले कार्यरत छन् । आइडी रोकिएपछि उनी नै काठमाडौं आएर महानिर्देशक र सचिवलाई भेटेपछि आइडी खुलेको हो । त्यति मात्र होइन, महानिर्देशक भट्टराईले जनकपुरमा कार्यरत शाखा अधिकृत मनोज आचार्यलाई तानेर बैदेशिक रोजगार बोर्डमा थन्काएका छन् । अनि आफ्नो अनुकूलको अधिकृत पठाएका छन् । जनकपुरमा अहिले शाखा अधिकृत रञ्जित यादवसहित दुई शाखा अधिकृत छन् । त्यसैगरी भैरहवाबाट शाखा अधिकृत गायत्री अधिकारीलाई तानेर सावित्रा दाहाललाई पठाइएको छ । यी त केही उदाहरण मात्रै हुन्, अहिले सचिव पुष्कर र महानिर्देशक भट्टराईले विभागका शाखा शाखामा पनि आफू अनुकूल र रकम उठाएर दिन सक्ने नासु तथा अधिकृतहरू सरुवा गरिरहेका छन् ।
दलालहरूको बिगबिगी
महानिर्देशक कमल भट्टराईले बैदेशिक रोजगार विभाग दलालबाट मुक्त भनेर समाचार लेखाए । जब उनी भन्सार विभाग र सम्पत्ति सुदृढीकरण विभागका महानिर्देशक हुँदा राजस्व छल्ने तस्कर र अवैध धन्दा गरेर अकूत सम्पत्ति कमाउने मारवाडीहरूसँग भेट्थे, त्यतिबेलादेखि नै बैदेशिक रोजगार विभागमा दलालहरू आउँदैनन् । किनकि जबदेखि विभागमा अनलाइन प्रणाली सुरू भयो, त्यो बेलादेखि दलाल विभागमा आउँदैनन् । तपाईंले दलालको सिन्डिकेट रोक्ने हो भने सोल्टिमोडदेखि विभागसम्म रहेका चाहे ती इन्स्योरेन्सको नाममा खोलिएका हुन् या यस्तै प्रयोजनका लागि खोलिएका दलाल अखडा बन्द गर्नुहोस् । अन्यथा दलाल किन विभाग छिर्नुपर्यो र? त्यहाँका दलाल र तपाईंको व्यक्तिगत शाखामा कार्यरत कर्मचारीले गोप्य रूपमा लिएका मोबाइलमा हुने ह्वाट्सएपका कुराकानी हेर्न सक्नुहुन्छ । अनि थाहा हुनेछ दलालसँग तपाईंका कर्मचारीको कस्तो सेटिङ र लेनदेनको कारोबार हुन्छ । हाम्रो समाचार स्रोत भन्छ, व्यक्तिगत शाखामा काम गर्ने नासु र शाखा अधिकृतको दलालहरूसँग कुरा गर्ने छुट्टै गोप्य मोबाइल नम्बर रहेका छन् ।