चितवनमा उत्पादित मह गुणस्तरयुक्त

7.4k Shares

चितवन – चितवनमा उत्पादित मह गुणस्तरयुक्त रहेको पाइएको छ । ११ वटा फार्मबाट नमूना सङ्कलन गरी पठाएकोमा सबै नमूना गुणस्तरयुक्त पाइएको मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाइँले बताउनुभयो ।

मौरीपालन विकास केन्द्र भण्डारा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको गुणस्तर परीक्षणका लागि पठाएका हुन् । अमगाइँका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाल सरकारले बनाएको मापदण्डअनुसार महको गुणस्तर राम्रो भएको र पौष्टिक तत्वले भरिपूर्ण रहेको पाइएको हो ।

यो परीक्षणपछि चितवनमा उत्पादित महको प्रयोग ढुक्कका साथ गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार महमा पानीको आद्रता, फुक्टोज गुलकोज अनुपात, रिड्युसिङ सुगर, हाइड्रोअक्सिमिथाइल फरफुरल, खरानी, फर्मिक एसिड, पानीमा अघुलनशील पदार्थ, शुक्रोजको मात्रा परीक्षण गरिएको थियो । कतिपय उपभोक्ताले महको गुणस्तरीयताको विषयमा प्रश्न उठाउँदै भ्रम फैलाउन थालेपछि महको परीक्षण गरिएको अमगाइँले बताउनुभयो ।   

सम्बन्धित समाचार