'कुलिङ पिरियड' प्रकरण : उच्चस्तरीय छानबिन समिति गठनदेखि राजीनामासम्मकाे माग

6k Shares

काठमाण्डाै – सङ्घीय निजामती सेवा विधेयकको 'कुलिङ पिरियड' मा भएको चलखेल सार्वजनिक भएपछि आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बसेको छ ।

बैठकमा सहभागी सांसदहरूमध्ये कोहीले छानबिन समिति बन्नुपर्ने र कसैले समितिका सभापति र सचिवले राजीनामा दिनुपर्ने धारणा राखेका छन् । नेकपा एमालेका नेता एवम् पूर्वकानूनमन्त्री पदम गिरीले समितिले छलफल गरी पारित गरेभन्दा फरक ढङ्गले प्रतिवेदन पठाइएको भन्दै समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग्नुभएको छ ।

सभापति र सचिवको हस्ताक्षर भएकाले जस्ताको त्यस्तै पठाउने दायित्व समितिको भए पनि सभापतिबाट कमी कमजोरी भएको उहाँको टिप्पणी छ । नैतिकताको हिसाबले सभापति खतिवडाले मार्गप्रशस्त गर्नुपर्ने एमाले नेता गिरीले बताउनुभयो । साथै उहाँले समितिका सचिवले पदमा बसिरहन नमिल्ने तर्क गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसले 'कुलिङ अफ पिरियड' को व्यवस्था सम्बन्धमा भएको बदमासीबारे छानबिन गर्न संसदीय समितिको माग गरेकाे छ । कांग्रेस सांसद हृदयराम थानीले उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्न माग गर्नुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले निजामती सेवा विधेयकमाथि भएको चलखेमला संलग्न सबैमाथि कारबाही हुनुपर्ने माग गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक रहेका हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नुपर्ने माग गर्नुभयाे ।

यस्तै विधेयकमाथि जालझेल गर्ने भूमिकामा मुख्यसचिव र सचिवहरू संलग्न छन् कि छैनन् भन्नेबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले बताउनुभयाे ।

समितिले सर्वसम्मतिले ‘कुलिङ अफ पिरियड’ को व्यवस्था राखेको थियो । त्यसलाई खण्डित हुने बुँदा राखिएको विधेयकको प्रतिवेदन प्रतिनिधिसभाबाट असार १५ गते पारित भएको थियो । 

सम्बन्धित समाचार