धानको उचित मूल्य नपाउँदा किसान निराश

9.8k Shares

नवलपरासी– नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् ।

मध्यविन्दु नगरपालिका– २ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे पनि प्रतिक्विन्टल दुई हजार दुई सय रुपैयाँ मात्र पाउँदा खिन्न छन् । गतवर्ष तीन हजारभन्दा बढी मूल्यमा उनले एक क्विन्टल धान बेचेका थिए ।

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएको बताए । यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरूले घरमा नै धान थन्क्याएको उनको भनाइ छ ।

गैँडाकोटका किसान मानबहादुर थारूले दुई हजार दुई सय प्रतिक्विन्टलका दरले धान बेचेको बताए । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।

सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएको हुनसक्ने उनले बताए । यो वर्ष नवलपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपिएको थियो ।

सम्बन्धित समाचार