काठमाडौं, २५ जेठ । काठमाडौं महानगरपालिका-६ रामहिटीस्थित सडकमा बा.प्र.०१-००६ ख ५५०८
नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय राजकुमार पौडेलको गए राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका-१ भुरूवास्थित सडकमा सु.प.प्र.०१-००१ ह ५१४८ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार अटो चालकको नाती १० महिनाको आयुष साउँदको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ मोहनपुरस्थित सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सु.प.प्र ०१-०१२ प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
गुल्मी, सत्यवती गाउँपालिका-२ पहादीस्थित सडकमा बा.१ ख ९१५१ नम्बरको जेसिबिको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८४ वर्षीया जमुना पाण्डेको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
रोकीराखेको जेसिबि शनिबार दिउँसो आफै गुड्न गई उक्त दुर्घटना भएको थियो । प्रहरीले हाल फरार जेसिबि चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।