विपद् जोखिम न्यूनीकरणमा भूमिका खेल्दै आएको नेपाल टेलिकम सम्मानित

15.6k Shares

काठमाडौँ । विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्व सूचना सन्देशहरू २०७३ सालदेखि अनवरत रूपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पुर्‍याएको भन्दै सम्मान गरेको हो । विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्‍याएकोमा नेपाल टेलिकमको भूमिकाको उच्च कदर गरिएको विभागले जनाएको छ । काठमाडौँमा आयोजित नेसनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सुशिलचन्द्र तिवारीले नेपाल टेलिकमलाई सो कदर पत्र प्रदान गरे । 

नेपाल टेलिकमका हाल देशैभर रहेका दूरसञ्चार पूर्वाधारहरू जल तथा मौसम विज्ञान विभागको प्रयोजनको लागि प्रयोग भइरहेका छन् । यस अनुसार विपद् जोखिम क्षेत्रमा सूचना सङ्कलन र सूचना प्रवाहका लागि यी पूर्वाधारहरू प्रयोग भएका छन् ।सूचना सङ्कलन अन्तर्गत बाढी पहिरो लगायतका विपद् जोखिम क्षेत्रमा रहेका ‘वेदर स्टेसन’हरुबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसम सम्बन्धी सूचना सङ्कलनको लागि नेपाल टेलिकमका सिमकार्डमार्फत कनेक्टिभिटी उपलब्ध रहेको छ । नेपाल टेलिकमले यसका लागि ३०० एमबी डाटा सुविधा सहितको सिमकार्ड उपलब्ध गराएको छ ।

त्यसैगरी सम्बन्धित क्षेत्रमा रहेका नागरिकहरूमा सम्भावित जोखिमबाट सतर्क गराउन ११५५ कोडबाट पूर्व सूचना प्रवाह गरिरहेको छ । यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरूको नम्बर मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको छ भने सबै सेवा निःशुल्क रूपमा उपलब्ध गराइरहेको छ ।

विपद्को पूर्व जानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबिच सहकार्य गरिएको हो । यो सहकार्य २०७३ सालदेखि नै निरन्तर रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार