काठमाडौं, १६ जेठ । मोरङ, जहदा गाउँपालिका-२ बस्ने श्रवण महत्तोको छोरा ६ वर्षीय कुस कुमार महत्तोको विराटनगर महानगरपालिका-१४ स्थित सिंघ्या खोलामा डुबेर बिहीबार दिउसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।
कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर माछापुच्छ्रे गाउँपालिका-६ अस्ताम बस्ने १४ वर्षीय बिशाल परियार र १३ वर्षीय विवश परियारको बिहीबार दिउसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी घाचोकबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनालाई ड्याममा फेला पारी
उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।
सिराहा, अर्नमा गाउँपालिका-४ लक्ष्मीपुर बस्ने धर्मेन्द्र सिंह दनुवारकी छोरी २ वर्षीया यशोधा कुमारी सिंहको आफ्नै घर अगाडि रहेको नालामा डुबेर बिहीबार दिउसो मृत्यु भएको छ ।
कैलाली, जोशीपुर गाउँपालिका-४ बाणी नजिक पथरैया नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने चन्द्र महतोको छोरी १४ वर्षीया अरुसी महतोको बिहीबार दिउसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।