काठमाण्डौ – धादिङको पहिलो प्रधानाध्यापक ठाकुरप्रसाद शर्माको नाममा प्रतिष्ठान स्थापना भएको छ । ‘ठाकुरप्रसाद शर्मा प्रतिष्ठान’ को हिजो सम्पन्न पहिलो वार्षिक साधारणसभाले सदानन्द कँडेलको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । धादिङमा व्यक्तिको नाममा गठन भएको यो पहिलो प्रतिष्ठान हो ।
प्रतिष्ठानले ठाकुरप्रसाद शर्मा राष्ट्रिय शिक्षा पुरस्कार, आदर्श शिक्षक पुरस्कार, आदर्श शिक्षासेवी पुरस्कार र एसइइमा जिल्लामा सर्वोत्कृष्ट हुने एक छात्र र एक छात्रालाई पुरस्कार दिने घोषणा गरेको छ । अघिल्लो वर्ष बुद्ध जयन्तीको दिनदेखि शुरु गरिएको अभियानको अक्षयकोषमा एक सय ५५ जनाभन्दा बढी आजीवन सदस्यहरुबाट ३३ लाख रुपैयाँभन्दा धेरै जम्मा भएको अध्यक्ष कडेलले जानकारी दिनुभयो ।
यही रकमको ब्याजबाट पुरस्कार तथा अरू कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठानको उद्देश्य छ । गजुरीमा २०२५ सालमा स्थापना भएको आदर्श हाईस्कुल धादिङकै पहिलो माध्यमिक विद्यालय हो । त्यतिबेला त्यहाँको प्रधानाध्यापक रहनुभएका ठाकुरप्रसाद शर्मा जिल्लाकै पहिलो प्रधानाध्यापक हुनुहुन्छ ।