काठमाडौं, वैशाख १६ गते । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ । गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादकसमेत रहनु भएका चालिसेको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ ।
जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान उहाँको निधन भएको जानकारी सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले दिनुभयो ।
उहाँ २०६६ असार १५ देखि २०६७ फागुन अन्तिमसम्म संस्थानको कार्यकारी अध्यक्ष हुनु भएको थियो । यसैगरी, २०६२ असोज ८ देखि २०६२ पुस १२ सम्म र २०६४ जेठ ३० देखि २०६५ भदौ १६ गतेसम्म गोरखापत्र गोरखापत्र दैनिकको कायम मुकायम प्रधान सम्पादक हुनुभएको थियो ।
पत्रकारिता र साहित्यमा विजय चालिसेको नामबाट परिचित उहाँको पूरा नाम विजयकुमार चालिसे हो । बेलायतबाट पत्रकारितामा डिप्लोमा गर्नुभएका चालिसेले ‘सञ्चारका सिद्धान्त’ नामक पत्रकारिताको पुस्तक पनि प्रकाशन गर्नुभएको छ । गोरखापत्र दैनिक १२५ वर्ष प्रवेशका अवसरमा गएको वैशाख २४ गते आयोजित विशेष समारोहमा उहाँलाई ५० हजार राशिको रामचन्द्र–इन्द्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।
उहाँका छोरी अन्जु, दुई छोरा अरुण र आलोक हुनुहुन्छ भने उहाँकी श्रीमतीको यसअघि नै निधन भएको थियो । वरिष्ठ साहित्यकार रमेश विकलका सुपुत्र विजय चालिसे बाल साहित्यमा सक्रिय एक समर्पित स्रष्टा हुनुहुन्थ्यो ।
वि.सं. २००८ असार २२ गते शुक्रबार जोरपार्टी आरुबारी काठमाडौंमा जन्मिएका चालिसे लामो समयदेखि कथाहरू, उपन्यासहरू र नाटकहरूमार्फत बालबालिकालाई केन्द्रमा राखी विविध साहित्यिक विधामा निरन्तर लेखन गर्दै आउनु भएको थियो ।
बालकथा लेखनमा उहाँको उल्लेखनीय योगदान छ। ‘हराएको मूर्ति’ (२०५६), ‘किसानबाट शिक्षा’ (२०५८) र ‘चट्याङ्किको बाँदर’ (२०५९) नामक कथा संग्रहमार्फत उहाँले बालबालिकालाई जीवनका विविध पक्षहरू सरल भाषामा चिनाउने प्रयत्न गर्नुभएको छ। छोटा वाक्य र संवादको प्रयोग गर्दै उहाँले स्वाभाविक र रमाइलो शैलीमा कथा प्रस्तुत गर्नुहुन्छ। यी कथाहरूमा प्रत्यक्ष सल्लाह नभए पनि गहिरा सन्देशहरू परोक्ष रूपमा समेटिएका हुन्छन्।
चालिसेका उपन्यासहरू पनि ज्ञानवर्धक र वैज्ञानिक दृष्टिकोणबाट महत्वपूर्ण छन्। ‘मंगल ग्रहका विज्ञान’ (२०६०) उपन्यासमा उहाँले सौर्यमण्डल तथा अन्तरिक्षसम्बन्धी विभिन्न वैज्ञानिक तथ्य र खोजहरू प्रस्तुत गर्नुभएको छ। यस्तै, ‘मुस्ताङको गुफा’ (२०६१) मा नेपाली प्राकृतिक सम्पदाबारे जानकारी दिँदै चालिसेले बालबालिकाले पनि बुद्धिमत्ता र सतर्कताका साथ गलत गतिविधिमा संलग्न वयस्कहरूमाथि विजय प्राप्त गर्न सक्ने सन्देश दिनुभएको छ।
विसं. २०५२ मा प्रकाशित ‘बादलका बुट्टाहरू’ नामक नाटक संग्रहमा समावेश चार नाटकमध्ये पहिलो दुई नाटकले समयमै बालबालिकाको प्रतिभा पहिचान गरी फुल्न दिएको खण्डमा उनीहरू सक्षम व्यक्तित्व बन्न सक्छन् भन्ने सन्देश दिन्छन्। बाँकी दुई नाटकले लोभ मानव जीवनको लागि हानिकारक छ भन्ने पाठ दिन्छन्।
बालसाहित्यसँगै चालिसेले जीवनी लेखनमा पनि हात हाल्नुभएको छ। उहाँको एक मात्र जीवनी कृति ‘सेवक प्रतिमूर्ति : दयाबीर सिंह कांसकार’ (२०४५) हो, जसमा नेपाली समाजसेवामा अमिट योगदान दिने व्यक्तित्वको जीवनगाथा प्रस्तुत गरिएको छ।
नेपाली बालसाहित्यमा महत्वपूर्ण योगदान पुर्याएका विजय चालिसे जस्ता स्रष्टाको लेखनले बालबालिकालाई पढ्ने बानी बसाल्न, ज्ञान बढाउन र जीवनप्रतिको दृष्टिकोण फराकिलो बनाउन मद्दत पुर्याइरहेको छ।