प्रि–मनसुनको बाढीले काभ्रेको पनौतीका बासिन्दा त्रासमा

6.8k Shares

काठमाण्डौ – काभ्रेको पनौतीमा हिजोको आरीघोप्टे वर्षा र त्यसपछिको बाढीले स्थानीयबासिन्दामा त्रास छाएको छ । बाढीले एक महिलालाई बगाएको छ भने खेतबारी, सडक, पुल र खानेपानीको पाइपमा क्षति पुगेको छ ।

हिजो दिउँसो कुलो तर्ने क्रममा पनौती नगरपालिका–५ की  २८ वर्षीय रेनुका गिरीलाई बगाएको र उहाँको अवस्था थाहा हुन नसकेको पनौती नगरपालिकाकी उपमेयर गीता बन्जराले जानकारी दिनुभयो । उहाँका अनुसार एक्कासी आएको बाढीले मकै र आलुबालीमा क्षति पुगेको छ ।

गएको असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका स्थानीयबासिन्दालाई मनसुन शुरू नहुँदैको बाढीले झस्काएको छ ।

पनौतीमा हिजो दिउँसो १ बजेदेखि ५ बजेसम्म आरीघोप्टे वर्षा भएको थियो । बाढीले वडा नम्बर २, ३, ४, ५, ६, , ७, ८, ९, १० बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ । बाढीबाट भएको यकिन क्षतिको विवरण आज सङ्कलन हुने उपमेयर बन्जराले बताउनुभयो ।

सम्बन्धित समाचार