वासिङ्टन, वैशाख १७ गते । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मङ्गलबार यदि रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने चेनावनी दिनुभएको छ । उहाँका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रारम्भिक प्राथमिकतामा अमेरिकी धैर्य कम हुँदै गएको छ ।
ट्रम्पले ह्वाइट हाउसमा फर्केको पहिलो २४ घण्टामै युद्ध अन्त्य गर्ने वाचा गर्नुभएको थियो तर उहाँले कार्यालयमा एक सय दिन मनाउँदै गर्दा रुबियोले प्रशासनले चाँडै अन्य मुद्दामा ध्यान दिनसक्ने सुझाव दिनुभएको छ ।
“हामी अहिले यस्तो समयमा छौँ जहाँ यो द्वन्द्व कसरी अन्त्य गर्ने भन्ने बारे दुई पक्षले ठोस प्रस्तावहरू दिन आवश्यक छ”, विदेश मन्त्रालयका प्रवक्ता टेमी ब्रुसले पत्रकारहरूलाई भन्नुभयो, “यदि प्रगति भएन भने हामी यस प्रक्रियामा मध्यस्थकर्ताका रूपमा पछि हट्नेछौँ ।”
उहाँले यो रुबियोबाट आएको सन्देश भएको बताउनुभयो । उहाँले कूटनीतिमा अगाडि बढ्ने कि नबढ्ने भन्ने अन्तिम निर्णय ट्रम्पमाथि निर्भर हुने बताउनुभयो ।
मङ्गलबार राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन अझै पनि युक्रेनसँग शान्ति सम्झौता गर्न चाहनुहुन्छ भन्ने सङ्केत दिनुभयो । एबिसी टेलिभिजनसँगको अन्तर्वार्तामा पुटिन शान्ति चाहनुहुन्छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले भन्नुभयो, “मलाई लाग्छ उहाँले चाहनुहुन्छ ।”
पुटिनले हालै द्वितीय विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका लागि आगामी हप्ता मस्कोको सम्झनामा तीन दिने युद्धविरामको प्रस्ताव राख्नुभएको छ । तर उहाँले युक्रेन–समर्थित ३० दिनको युद्धविरामको अमेरिकी आह्वानलाई अस्वीकार गर्नुभएको थियो ।
संयुक्त राज्य अमेरिकाले ‘तीन दिनको क्षण होइन जहाँ तपाईं केही अरू मनाउन सक्नुहुन्छ – पूर्ण, दिगो युद्धविराम र द्वन्द्वको अन्त्य’ चाहेको ब्रुसले बताउनुभयो ।