काठमाडौँ – नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने दक्षिण एशियाको मुलुकहरुको सूचीमा पहिलो नम्बरमा पर्दछ ।
करको दर कम भएकै कारण प्रयोगकर्ता घटाउन मुस्किल भइरहेको यस क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन् । करको दर कम हुँदा सुर्तीजन्य पदार्थको मूल्य पनि कम हुने र त्यसले आम सर्वसाधारणका लागि सहज उपलव्धता हुने उनीहरुको भनाई छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यक्रममा फोकल पसर्नका रुपमा समेत काम गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीका अनुसार नेपाल सरकारले सुर्तीजन्य पदार्थमा लगाएको करको दर अहिले ३४.५३ प्रतिशत हो । जबकी छिमेकी भारतमा ५३ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत, बंगलादेश र श्रीलंकाले ७०–७० प्रतिशत कर लगाएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि नेपाल जस्तो विकासोन्मुख मुलुकमा करको दर ७५ प्रतिशत पुर्याउँन पर्छ भनेर सुझाव दिदै आइरहेको छ । एकातिर नेपालीको औसत आय बृद्धि भैरहेको छ भने अर्कोतिर सुर्तीजन्य पदार्थको कर दर कम भएकोले यसको उपभोगमा कमि ल्याउन सकिरहेको छैन ।
मन्त्रालयका सूचना अधिकारी डा केसी भन्छन्, यसपटक पनि हामीले सुर्तीजन्य पदार्थमा करको दर बढाउनका लागि अर्थ मन्त्रालय समक्ष जोडदार माग गरेका छौँ । पत्राचार गरिसकेका छौँ । उनले अहिले भएको करको दर भन्दा दोब्बर बढी अर्थात करको दर ७० प्रतिशत माथि पुर्याउँन अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए । अहिल्यै यकिन गर्न त गाह्रो कुरा हो तर केही न केही भने बढ्नेमा हामी आशावादी छौं,’ उनले भने ।
सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बढाउनका लागि पहल गर्नुपर्ने बताए।‘सरकारको फितलो कार्यान्वयनका कारण नेपालमा यसको प्रयोगकर्ता बढ्दै गएको छ’,उनले भने, ‘सरकारले भएका कानून कार्यान्वयन गरी करलाई बढाउने हो भने यसको प्रयोगकर्ता घटाउन सकिन्छ।’
एक्सन नेपालकै अनुसन्धान अधिकृत डा. पामिर गौतमले सुर्तीजन्य पदार्थमा कर बढाउँदा हुने फाइदाबारे कुरा गर्दै भन्छन्, ‘विश्वका विभिन्न अध्ययन्हरुले देखाएको छ कि सुर्तीजन्य पदार्थमा करको दर १० प्रतिशत बृद्धि हुँदा नेपाल जस्तो विकासोन्मुख मुलुकमा ६ प्रतिशतले उपभोग घट्छ । अनि जब करको दर बढ्छ त्यसले राजश्वमा चाहि बृद्धि हुन्छ । यो कुरा नीतिगत तहमा रहने व्यक्तिहरुले कहिले बुझ्ने होला ? प्रतिप्रश्न गर्दै उनले भन्छन् ।’
उनले यसपटक पनि विभिन्न अध्ययन अनुसन्धानबाट पत्ता लागेको तथ्यांक समेत समेटेर सरकारलाई सुर्तीजन्य पदार्थमा करको दर बढाउन सरकारको ध्यानाकर्षण गराएको बताए । विश्वको तथ्यांक केलाउँदा सुर्तीजन्य पदार्थको कुल सेवनकर्ताको ८० प्रतिशत न्युन तथा कम आय भएका मुलुकका बासिन्दा छन् । नेपाल न्युन तथा कम आय भएको मुलुकको सूचीमा पर्ने भएकोले पनि यो तत्थ्यलाई गम्भीरताका साथ हेर्नुपर्नेमा डा गौतमको जोड छ ।