खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
राजापानीको बेलडाँडास्थित पावर हाउस (विद्युत्गृह) बाट उत्पादन गरिएको जलविद्युत् दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा पर्ने साप्सुखोलाबाट बेलडाँडामा ल्याइएको पानीलाई ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको हो ।
राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर जलविद्युत् उत्पादन गरेको प्रवद्र्धक कम्पनीले खोलामा पानी नै सुकाएर जलविद्युत् उत्पादन गरेको पाइएको छ । जलविद्युत् उत्पादन गर्दा कम्तीमा दश प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगिएको थियो ।
साप्सुखोलामा जलविद्युत् प्रवद्र्धक कम्पनीले स्थापनाकालबाटै खोलामा पानी नछाडी जलविद्युत् उत्पादन गरेपछि समस्या भएको जनाइएको छ । जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्नका लागि खोला नै सुकाएर पानी फर्काएपछि खेतीपाती गर्न समस्या भएको स्थानीय कुमार बुढाथोकीले गुनासो गरेका छन् ।