ज्यालादारी भन्दा ऐँसेलु बेचेर धेरै कमाउछन् गाउँले

7.4k Shares

गण्डकी– कुनैताका वन पाखा चहारेर खाइने ऐँसेलु हिजोआज राजमार्ग छेउछाउ किनमेल भइरहेको भेटिन्छ । स्वादिष्ट र गुणकारी फल ऐँसेुल कतिपयका लागि आयआर्जनको स्रोत बनेको छ । पाखापखेराबाट दुःखजिलो गरी टिपेर ल्याएको ऐँसेलु बेच्नेमा महिला र बालबालिका बढी हुन्छन् । वसन्त याममा मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेमा ऐँसेलु बेच्नेको लर्को देखिन्छ । 

पहाडी भेगका अन्य सडकमार्गमा पनि ऐँसेलुको किनबेच हुने गर्छ । हिउँदको फुर्सदिलो समयमा ऐँसेलु टिप्नु र बेच्नु स्थानीयवासीको दैनिकी जस्तै बन्ने गरेको छ । काँडेकी मनमाया विकले वन पाखा पुगेर ल्याएको ऐँसेलुलाई मल्लाताको हरियो पातमा बेरेर बेच्ने गरेको सुनाइन् । बिहानमा ऐँसेलु टिप्ने र दिउँसो राजमार्गमा ल्याएर बेच्ने गरेको उनले बताइन् ।’ ऐँसेलु बेचेको पैसाले सामान्य घर खर्चको जाहो हुन्छ’, उनले भनिन्, ‘बालबालिकाले कापीकलम किन्ने पैसा जुटाउँछन् ।’

काँडा छिचोलेर ऐँसेलु टिप्ने काम सजिलो भने नहुने उनीहरूको अनुभव छ । थोरै भए पनि नगद आर्जन हुने देखेर स्थानीयवासी ऐँसेलु बेच्न लालायित देखिएका हुन् । महिलाहरूले टपरी झैँ खिपेको सोली आकारको हरियो पातमा ऐँसेलु राखेर बेच्ने गर्छन् । एउटाको मूल्य रु एक सय राखिएको छ । कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्ने गरेका छन् । दैनिक ज्यालादारी कामको भन्दा धेरै पैसा आउन थालेपछि ऐँसेलुतिर आकर्षित भएको महिलाहरू बताउँछन् । 

राजमार्गमा यात्रा गरिरहेका यात्रुले गाडी रोकेर ऐँसेलु किन्ने गर्छन् । कतिपयले चाख मानेर ऐँसेलु किन्ने गरे पनि कोहीले भने वास्तै नगर्ने स्थानीयवासीको बताउँछन् । ऐँसेलुको किनमेल हुन थालेपछि फुर्सदको सदुपयोग भएको छ । घरगुजारा चलाउन पैसाको पनि जोहो हुन थालेको छ । अधिकांश सहरीया मानिसको रोजाइमा ऐँसेलु पर्ने गरेको छ । विदेशी पर्यटकले पनि किनेर खाने गरेका छन् ।  

सम्बन्धित समाचार