बेमौसमी वर्षाले इँटा उद्योगमा ठुलो क्षति

6.8k Shares

नेपालगन्ज । चैत २७, २८ र २९ गते आएको हावाहुरी तथा बेमौसमी वर्षाले बाँके जिल्लामा रहेका ३० भन्दा बढी इँटा उद्योगमा तयार पारेर राखिएको साढे सात करोड रुपियाँभन्दा बढीको काँचो इँटा नष्ट भएको छ । 

नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर वलीले यही चैत २७, २८ र २९ गते आएको हावाहुरी तथा बेमौसमी पानीले बाँके जिल्लामा रहेका ६० वटा इँटा उद्योगहरू मध्ये ३० वटा उद्योगहरूमा तयार पारेर बाहिर राखिएको करिब एक करोड ५० लाख काँचो इँटा नष्ट भएको बताउनुभयो । उहाँका अनुसार जिल्लाका श्रद्धा इँटा उद्योग, चाचा इँटा उद्योग, चाँद इँटा उद्योग, देउती इँटा उद्योग लगायत ३० बढी इँटा उद्योगहरूद्वारा तयार गरिएको सात करोड पचास लाख बढी मूल्यको कच्चा इँटालाई हावाहुरी तथा पानीले नष्ट गरेको छ ।

पकाउनका लागि तयार पारेर राखिएका ८० प्रतिशत भन्दा बढी काँचो इँटाहरू वर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको जनाउँदै अध्यक्ष वलीले एउटा काँचो इँटा तयार गर्दा करिब पाँच रुपियाभन्दा बढी खर्च लाग्ने गरेकोले एक करोड ५० लाख पिस इँटामा क्षति पुग्दा सात करोड पचास लाखको नोक्सानी भएको बताउनुभयो । 

एउटै व्यवसायीको पकाउन राखिएका पाँच लाखदेखि १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको जनाउँदै नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका कार्यालय सचिव सूर्यमणि पौडेलले खुला चौरमा भर्खरै तयार पारेर सुक्नका लागि राखिएका अधिकांश इँटा र भट्टा भित्र आगोमा राखिएका केही इँटा समेत नष्ट भएको बताउनुभयो । श्रद्धा इँट्टा उद्योगका सञ्चालक सुधिरप्रताप सिंहले बेमौसमी हावाहुरी तथा वर्षाले गर्दा आफ्नो उद्योगमा मात्रै बाहिर तयार पारेर राखिएको करिब १० लाख बढी काँचो इँटाहरू नष्ट भएको जनाउँदै त्यसको मूल्य करिब ५० लाख भन्दा बढी हुने बताउनुभयो । 

सम्बन्धित समाचार