तनहुँ । विस्तारको काम भइरहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डको ६६ किमि सडकमा अन्तिम चरणको कालोपत्र पुरा भएको छ ।
पहिलो चरणमा ६ सेन्टिमिटर मोटाइको सडक कालोपत्र गरिएको सो दुरीमा दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको गरी अन्तिम चरणको कालोपत्र गरिएको पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार यस खण्डमा हालसम्म ७५ किलोमिटर कालोपत्रे पूरा भएको छ ।
तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी सो दुरीमा कालोपत्रे भएको हो । इन्जिनियर पाण्डेले भन्नुभयो, “हालसम्म कालोपत्रे भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७५ किलोमिटर दुरी कालोपत्रे भएको छ ।”
काम चाँडै सम्पन्न गर्न तदारुकताका साथ गरिरहेको र हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो । पाण्डेका अनुसार दायाँ ३७ र त्यस्तै बायाँ ३७ गरी ७४ र एक किलोमिट एक तर्फी गरी ७५ किलोमिटरमध्ये ६६ किलोमिटरमा अन्तिम कालोपत्रे (डबल लेयर) सकिएको हो । पूर्वी खण्ड अन्तर्गत हाल बन्दीपुर गाउँपालिकाको वडा नम्बर १ र ४ गरी मा पर्ने डुम्रे बजारमा दुवैतर्फीको कालोपत्रे पुरा भएको छ ।