गुलरियामा छ सय ५५ घरमा जस्तापाता लगाइने

7.8k Shares

बबई (बर्दिया) । नेपाल सरकारले सुरु गरेको सुरक्षित नागरिक आवास अन्तर्गत बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा यस आर्थिक वर्षमा छ सय ५५ घरबाट खरको छाना विस्थापित गरिने भएको छ ।

न्यून आय भएका र लक्षित वर्ग अन्र्तगतका नागरिकहरुका लागि सुरक्षित नागरिक आवास कार्यक्रम कार्यविधि २०७५ को परिच्छेद दुईको दफा तीन र चारको उद्धेश्य अनुरुप खरको छाना भएका परिवारलाई जस्तापाताको छाना मुनी ल्याउने उद्धेश्य अनुरुप सुरक्षित आवास निर्माण गरिने भएको हो ।

विगतका वर्षमाभन्दा यस आर्थिक वर्षमा सुरक्षित आवासको सङ्ख्या बढेर आएकाले आफ्ना नागरिकहरुसँग आवेदन माग गरिएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो । खरको छाना विस्थापित गरेर टिनको छानामुनि ल्याउने नेपाल सरकारको कार्यक्रम अन्तर्गत यस वर्ष छ सय ५५ घर निर्माणका लागि आवेदन माग गरिएको छ। 

आवेदनमा छनोट भएका नागरिकले प्रति घर परिवार ७५ हजार पाउने छन् । नागरिकले पाउने ७५ हजारमध्ये पहिलो किस्ता वापत ४५ हजार र जस्तापाता लगाएर घर पुरा भएपछि ३० हजार गरी कुल ७५ हजार पाउने गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रुपसिंङ खत्रीले बताउनुभयो ।

सुरक्षित आवास निर्माणका लागि गुलरिया नगरपालिकालाई कुल चार करोड ९१ लाख २५ हजार खर्च हुने देखिएको छ जसमध्य २८ लाख निकासा भएको छ भने बाकी बजेट निकासा गर्न संघिय सरकारसँग पत्राचार गरिएको नगरपालिकाले जनाएको छ । 

सम्बन्धित समाचार