काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला निडर र जुझारु व्यक्तित्व भएको बताएका छन् ।
सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ नामक पुस्तक विमोचनका क्रममा देउवाले कोइरालालाई सम्झिँदै भने, “गिरिजाप्रसाद कोइरालासँग धेरै उतार चढाब आए मेरो जीवनमा । मलाई उहाँले पार्टीबाट निकाल्नुभयो । मैले पार्टी फोरेँ । त्यस्तो सम्बन्ध हो ।”
उनले कोइरालालाई आफूले २०२४ सालमा नक्खु जेलमा चिनेको बताउँदै भने, “मैले उहाँलाई नख्खु जेलमा हो चिनेको । हामीलाई पक्राउ गरेर लगेको थियो २४ सालमा । भेटेकै त्यहीँ हो । धेरै काम गर्ने मौका पाएँ । कहिल्यै नथाक्ने मान्छे हो उहाँ । उहाँजस्तो जुझारु कहिल्यै नथाक्ने मान्छे मैले देखेकै छैन । तपाईं बूढो मान्छे किन नथाकेको म त थाकिहाल्छु भन्थेँ । धेरै कुराहरु छन् उहाँसँगका ।”
कोइरालाले नै फेरि मिलौँ भनेपछि आफूले पार्टी मिलाएको स्मरण गरे । “गिरिजाबाबुले फेरि मिलौँ भन्नुभयो, मिल्यौँ,” उनले भने, “उहाँको योगदान छ म सभापति हुन पनि । राजा ज्ञानेन्द्रसँग उहाँ र म सँगसँगै लड्यौँ । मलाई राजाले थुनेको बेलामा उहाँ भेट्न आउनुभयो । जेलभित्र पनि जेलमा राखेका रहेछन् नि ! भन्नुभयो ।”
देउवाले ओलीको पनि प्रशंसा गर्दै सम्बन्ध अझै राम्रोसँग अघि बढाउने बताए । “उहाँ र म जेलमा पनि सँगै बसेको हो । उहाँ जेलभित्रको पनि जेलमा बस्नुभएको हो । त्यस्तो व्यक्ति हो ओलीजी,” उनले भने, “सम्बन्ध पनि राम्रो छ । अन्तमा अब पनि हामी अघि बढ्नेमा दुई मत छैन ।”