प्रहरीको मनोबल किन खस्किदै ?

18.2k Shares

८ असोज, काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको मनोबल खस्कँदै गएको भान हुन थालेको छ । प्रहरीमा राजनीतिक हस्तक्षेपकै कारण चाहेर पनि प्रहरीले सर्वसाधारणलाई दिनुपर्ने शान्ति सुरक्षाका गतिविधि पछिल्लो समय दिन सकिरहेको छैन । 
केही दिनअघि ललितपुरको एक सुन पसलमा गहना किन्न गएका व्यक्तिहरु नक्कली नोट दिएर फरार भए । करिब चार लाखको गहना खरीद गरी उनीहरु नक्कली नोट दिएर नाटकीय शैलीमा ठग्न सफल भएका थिए ।
कोरोना भाइरसले सिर्जना गरेको संकटले आर्थिक समस्यामा परेपछि मान्छेहरु यस्ता अपराधमा लागेका छन् । अझ आजभोलि सबै मास्क लगाएर हिँड्ने भएकाले अपराध गर्ने पहिचान गर्न समेत समस्या हुने गरेको छ । जसले अपराधको जोखिम झन् बढाएको छ । लकडाउन खुलेसँगै देशमा अपराध बढ्न थालिसकेको छ । यस्तो बेला प्रहरीको मनोबल उच्च हुनुपर्नेमा प्रहरीको मनोबल भने खस्किदै गएको छ ।
महामारीको बेला प्रहरीलाई सरकारले प्रोत्साहित गर्न नसक्दा अबका दिन समस्या झन् बढ्न सक्ने जोखिम देखिएको छ । बेरोजगारी बढेसँग अपराध पनि बढ्न थालेको छ । तर त्यो अनुसारको तयारी प्रहरीबाट हुन सकेको छैन ।
पछिल्ला केही वर्षमा पेशेवर अपराधीबाट हुने अपराध ह्वात्तै घटेकोमा प्रहरीलाई हाईसञ्चो जस्तै थियो । कोरोनापछि बढेको बेरोजगारी र आर्थिक समस्याले प्रत्यक्ष रुपमा त्यसको असर शान्ति सुरक्षामा पर्ने र अपराध बढ्ने आँकलन प्रहरी प्रधान कार्यालयको छ । प्रहरीले यसमा सतर्कता बढाएपछि त्यस्ता अपराधसँग जुध्न प्रहरीको प्रष्ट कार्ययोजना भने छैन ।
लकडाउन खुुकलो भएसँगै अपराधका घटना बढ्न थालिसकेका छन् । जेठ महिनामा देशभरी दुई हजार तीन सय ९८ अपराधका घटना दर्ता भएको छ । साउनमा त्यो घटना बढेर तीन हजार ६ सय १८ पुगेको छ । साउन र भदौ घटना झन् बढेका छन् । असोजदेखि लकडाउन खुलेको र चाडपर्वको समय समेत सुरु भएकाले अपराध अझै बढ्ने प्रहरी आशंका छ ।
धेरै बेरोजगार भएकाले दैनिक जिविकोपार्जन गर्न र बाँच्नकै लागि पनि बाध्य भएर चोरी डकैतीमा लाग्नुपर्ने अवस्था सिर्जना भइसकेको पूर्व एआईजी रमेशशेरख बज्राचार्यको भनाई रहेको छ । बज्राचार्यका अनुसार अनुसार ‘अनलाइनमार्फत हुने ठगी बढ्न थालेका छन्, अब आर्थिक समस्याकै कारण कतिपय मानिसहरुले अपराधमा लाग्न सक्ने जोखिम छ ।’ छिमेकी देश भारतमा पनि सडकमा हुने लुटपाटजस्ता अपराध र साइबर ठगीका घटना ह्वात्तै बढेको छ । अनलाइनबाट सस्तोमा सामान दिने भनेर ठग्ने, वेभसाइड ह्याक गरेर पैसा माग्ने जस्ता गतिविधि समेत बढ्न थालेका छन् ।
विगत केही वर्षयता पेशेवर अपराधीबाट हुने अपहरण, धम्की, तथा संगठित गुन्डागर्दी धेरै हदसम्म नियन्त्रणमा आएको थियो । यस्ता संगठित अपराध पनि अब बढ्न सक्ने चिन्ता छ ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)ले मानव बेचबिखनका घटना पनि बढ्न सक्ने आंकलन गरेको छ । लकडाउन खुलेपछि मानव बेचबिखनका घटना फाट्टफुट्ट देखिन थालेको छ भने यो क्रम बढ्दै जाने संकेतहरु देखिन थालिसकेको छ ।
अबको आर्थिक संकटले सामाजिक मूल्य मान्यता भत्किने र त्यो अवस्थामा प्रहरीले पूर्वतयारी नगरे अपराधको अवस्था प्रहरी नियन्त्रणबाहिर जान सक्ने पूर्वएआईजी बज्राचार्यको विश्लेषण छ । अबका दिनमा हुनसक्ने अपराधसँग जुध्न अहिलेदेखि नै प्रहरीले तयारी थाल्नुपर्ने उनी बताउँछन् ।
अन्य देशमा पनि कोरोना संकटसँगै नयाँ किसिमका अपराध देखिन थालिसकेका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)ले समेत यसससम्बन्धमा सचेत रहन सबै सदस्य राष्ट्रलाई सर्कुलर गरिसकेको छ । स्वास्थ्यसम्बन्धी नक्कली सामानको कारोबार र अनलाइनमार्फत हुने अपराध धेरै देशमा बढेको इन्टरपोलले जनाएको छ ।
त्यस्तै, लकडाउन सुरु भएलगत्तै साइबर अपराध बढ्न थालिसकेका छन् । इन्टरनेटमार्फत हुने कारोबार बढेकाले त्यससम्बन्धी अपराध पनि बढेको प्रहरीको साइबर ब्यूरोको तथ्याङक छ । जेठयता साइबर अपराधसम्बन्धी उजुरी बढ्न थालेको साइबर ब्यूरोका सामाजिक सञ्जालबाट प्रभावमा पारी हुने ठगी तथा ह्याकिङका घटना विगतमा पनि बढेका छन् ।
लकडाउनको चार महिनाको अवधिमा मात्र ब्यूरोमा एक हजार एक सय २४ वटा उजुरी परेका छन् । अर्थात् दैनिक औसतमा १० वटा उजुरी पर्न थालेका छन् ।
लकडाउन सुरु भएयता नै साइबर अपराधसम्बन्धी उजुरी बढेको प्रहरीको साइबर ब्यूरोका अधिकारीहरु बताउँछन् । ‘इन्टरनेटको पहुँच ५० प्रतिशतले बढेको छ, सबैको हातमा स्मार्ट फोन छ, जसको दुरुपयोग पनि बढेको छ,’ उनी भन्छन्, ‘विगतमा हामी फेसबुकले समस्या बढायो भन्थ्यौं, अहिले युट्युव र टिकटकबाट पनि साइबर अपराध बढ्ने गरेकोछ । पछिल्लो समय अनलाइन कारोबार बढेकाले त्यसबाट पनि ठगीका बढ्दै गएका छन् । त्यस्तै निकटस्थ व्यक्तिहरुकै गोप्य फोटो तथा भिडियो इन्टरनेटमा राख्ने ‘रिभेन्ज पोर्न’ समेत नेपालमा देखिएको छ । बढ्दो साइबर अपराध नियन्त्रणमा सर्वसाधारण पनि सचेत हुनुपर्ने प्रहरी अधिकारीहरुको भनाई रहेको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिएको छ । यसले संक्रमणलाई नियन्त्रण गरेपनि अपराधलाई भने बढाउने प्रहरीको चिन्ता छ । अपराधीको पहिचान गर्न मास्कले समस्या हुन थालेको छ । ‘सिसीटिभीमा अपराधी देखिए पनि अब पहिचान गर्न कठिन हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘अपराध गर्नेहरुलाई सहज बनाएको छ, यसबाट प्रहरी अनुसन्धानमा कठिनाइ बढेको छ ।’
कोरोना भाइरसका कारण खस्केको आर्थिक मन्दी र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने वर्गले बाँच्नकै लागि बाध्य भएर अपराधजन्य गतिविधि गर्ने भएकै कारण अपराध बढ्ने आँकलन गरेपनि प्रहरीले यसताखाले अपराधलाई नियन्त्रण गर्न कस्ता रणनीति अप्नाउने भन्ने ठोस योजना बनाएको छैन ।
यही बेला प्रहरीको प्रदेशमा समायोजनको तयारी भइरहेको छ । अपराध बढ्ने अवस्थामा प्रहरीको ध्यान समायोजना केन्द्रीत हुने भएकाले पनि यसबाट शान्ति सुरक्षामा असर पर्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीलाई बलियो बनाइएन भने अवस्था भयावह हुनसक्छ ।
गत वर्ष समग्र अपराध घटेपछि सामाजिक अपराध र आत्महत्या भने बढेको छ । गत अघिल्लो वर्ष सामाजिक अपराध ११ हजार एक सय ८९ रहेकोमा पछिल्लो वर्ष ११ हजार चार सय ८१ पुगेको छ ।
गत वर्ष दुई हजार एक सय ४४ बलात्कार तथा ६ सय ८७ बलात्कार प्रयासका घटनाको प्रहरीमा दर्ता भएका छन् । अर्थात् दैनिक बलात्कार तथा बलात्कार प्रयासका दैनिक सात घटना हुने गरेका छन् । गत वर्ष यस्तो संख्या तीन हजार १६ थियो । पछिल्लो वर्ष थोरै कमी आएको छ ।
मानव बेचबिखन तथा बहुविवाह जस्ता अपराध घटेका छन् । मानव बेचबिखनका मुद्दा अघिल्लो वर्ष दुई सय ४७ वटा भएकोमा एक सय ६४ मात्र छन् भने बहुविवाहका मुद्दा एक हजार एकबाट घटेर सात सय ३४ मात्र छ । बोक्सीको आरोपमा यातना दिएको सम्बन्धी मुद्दा अघिल्लो वर्ष ४६ वटा दर्ता भएकोमा गत वर्षमा ३४ वटा दर्ता भएका छन् ।
ज्यानसम्बन्धी अपराधका घटना भने बढेका छन् । गत वर्ष ६ हजार नौ सय ९६ वटा घटना रहेकोमा यो वर्ष ७ हजार एक सय ५५ वटा छन् । जसमा सबैभन्दा धेरै भवितव्यसम्बन्धी चार हजार दुई सयवटा छन् । पछिल्लो वर्ष खुन डाँकाका मुद्दा शून्य छ । कर्तव्य ज्यानसम्बन्धी मुद्दा अघिल्लो वर्ष ६ सय ५९ रहेकोमा पाँच सय ५५ जनामा घटेको छ ।
यस्तो अवस्थामा प्रहरीलाई दिने भनिएको भत्ता समेत दिइको छैन । राशनभत्ता पनि बृद्धि हुन सकेको छैन । समयमा बढुवा नहुने र भएपनि चरम राजनीतिकरण हुने भएकाले पनि प्रहरी अधिकारीहरुको मनोबल खस्किएको छ ।
गृह मन्त्रालय नै प्रहरीलाई बलियो बनाउन पक्षमा नदेखिएकाले पनि समस्या बढेको प्रहरी अधिकारीहरु बताउँछन् ।

सम्बन्धित समाचार