तुलसीपुर (दाङ) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् ।
परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टन बढी उत्पादन हुने गरेको छ । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र ३२ हजार आठ सय ९४ मेट्रिक टन मकै उत्पादन भएको थियो । बर्सेनि उत्पादन बढिरहेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९/८० मा २६ हजार चार सय ५५ मेट्रिक टन मकै उत्पादन भएको थियो । देउखुरी क्षेत्रमा रामपुर हाइब्रिड–१० जातको मकै लगाउने गरिएको छ ।
सूचना अधिकारी कँडेलका अनुसार बर्सेनि उत्पादन क्षेत्रफल पनि बढिरहेको छ । आव २०७९/८० मा तीन हजार सात सय हेक्टरमा मकैखेती गरिएकामा आव २०८०/८१ मा तीन हजार आठ सय हेक्टरमा मकैखेती हुने गरेको हो । यसरी बर्सेनि खेती गर्ने किसानको आकर्षण बढिरहेको उहाँले बताउनुभयो । कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने गरेको छ । रामपुर हाइब्रिड–१० सहित अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बीउ पनि अनुदानमा दिने गरिएकाले उक्त मकैखेती गर्ने गरिएको छ । यसरी किसानले उत्पादन गरेको मकै पसल तथा दाना उद्योगमा बिक्री हुने गरेको छभने बीउ कम्पनीले बीउ खरिद गरिदिने भएकाले बजारीकरणका लागि पनि समस्या नरहेको सूचना अधिकारी कँडेलको भनाइ छ ।
मकैखेतीका लागि विभिन्न प्रविधिको प्रयोग गर्ने गरिएको छ । भौगोलिक बनावटअनुसार रोप्नका लागि सिडड्रिल, ज्याव प्लान्टर तथा केही स्थानमा ट्रयाक्टरले समेत मकै छरेर पछि रोटाभेटर लगाउने गरेका छन् । विगतमा बाँझो राखिएको जग्गामा अहिले मकैखेती गर्ने गरिएको छ । जसले गर्दा किसानलाई आम्दानीको स्रोत बढिरहेको सूचना अधिकारी कँडेलले बताउनुभयो ।