जब गुलाम अली गुञ्जिने कार्यक्रममा भनियो– उहाँ आइपुग्नुअघि नै मदिरा पिइसक्नू

8.6k Shares

काठमाडौं – पाकिस्तानी गजल गायक गुलाम अलीले नेपालमा सांगीतिक प्रस्तुति दिएका छन् । साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रम ‘गुलाम अली : थ्री जेनेरेसन अन स्टेज’ का लागि उनी नेपाल आएका हुन् ।

ब्यान्ड सदस्यसहित नेपाल आएका अलीले शनिबार साँझ ललितपुस्थित होटल प्लाजामा आफ्ना लोकप्रिय गीत गाएका थिए । उनले नेपाली गीतहरूमा ‘गाजलु ती ठूला ठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला आँखा’लगायत गाएका थिए ।

उनले आफू दोस्रो पटक नेपाल आएर दर्शकसँग साक्षात्कार गर्न पाउँदा खुसी महसुस भएको सुनाए । उनले भने, ‘म पहिलो पटक नेपाल आउँदा युवा थिए । यो दोस्रो पटक हो । नेपाली दर्शकको मायाले यो सम्भव भएको हो ।’

उनले दुई घण्टा लामो सांगीतिक प्रस्तुति दिए । उनले आफ्ना लोकप्रिय गीत गाएर नेपाली समर्थकलाई मनोरञ्जन दिए । उक्त कार्यक्रममा उनका छोरा अमिर र नाति नाजिरले पनि सांगीतिक प्रस्तुती दिए ।

गायक अलीको धर्म मुस्लिम हो । अहिले मुस्लिमहरुको प्रमुख पर्व रमजान चलिरहेको छ ।

मदिरा निषेध

अली रमाजनाको नित्यकर्म गर्नुपरेकाले कार्यस्थलस्थलमा तोकिएको समयभन्दा करिब डेढ घण्टा ढिलो आउने जानकारी दिइयो । उनको ढिलाइले उपस्थित दर्शकहरू खानपिनमा लागे । कार्यक्रम हुने हलमा खाना र मदिरा लैजान दिइएको थियो ।

करिब साँझ सवा ७ बजे अली कार्यक्रमस्थलमा प्रवेश गरे । त्यसअघि नै मदिराका बोतल र गिलास खाली गर्न कार्यक्रम सञ्चालकले दबाब दिए ।

gulam-ali-1-1536x1024.jpeg

कार्यक्रम सञ्चालकले भने, ‘रमजान चलेकाले अली साहेबले मैले गीत गाउँदा मदिरा पिएको दृश्य देख्नु नपरोस् भन्नुभएको छ । धर्मिक कारणले उहाँले यो आग्रह गर्नुभएको हो । तपाईंहरूले उहाँ आउनुभन्दा अघि नै मदिरा खाली भइसकोस् ।’

केहीले भन्दै थिए, ‘खान नपाए किन बेच्नू ? यो त आयोजकको कमजोरी हो ।’ तर, धार्मिक कारण र अलीको सम्मानमा उनीहरूले मदिरा पिएनन् ।

सम्बन्धित समाचार