काठमाडौं । सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परि ३६ जना बेपत्ता भएका छन् भने पाँच जना सख्त घाइतेलाई उद्धार गरी थप उपचारका लागि चौतारा लगिएको छ ।
लिदीमा गएको पहिरोले पु¥याएको क्षति अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेका छन् । केहीको शव निकाल्ने प्रयास भइरहेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा आज बिहान भीषण पहिरो जाँदा ठूलो जनधनको क्षति पुगेको हो । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयको भनाइ छ ।
पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमिन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।