काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएको तीन साता पुग्न लागेको छ। माघ १० गते उपकुलपतिमा उहाँको नियुक्ति भए पनि हालसम्म रजिस्टार र रेक्टरको नियुक्ति हुन सकेको छैन । परीक्षा नियन्त्रण कार्यालयले अनलाइन सेवा सञ्चालन गरेको छ । तर प्रभावकारी हुन सकेको छैन ।
उपकुलपति प्राडा बरालले कार्यभार सम्हाल्नुभएकै दिन त्रिविलाई राजनीतिक भागबण्डा मुक्त गर्ने, समयअनुकूल पाठ्यक्रम परिमार्जन गर्ने र परीक्षा सुधार गर्ने बताउनुभएको थियो । तर, यतिका दिन बितिसक्दा पनि ती काममा खासै प्रगति हुनसकेको छैन ।
उहाँले रजिस्टार र रेक्टरमा दुई पदाधिकारी नियुक्ति गर्न पुरानैलाई निरन्तरता दिनुभएको छ। कानुनका डीन डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिस्टार र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा. भार्गव धिताललाई निमित्त रेक्टरको जिम्मा दिनुभएको छ।
आफूले पदवहाली गर्दा भागबण्डाको विरोध गरेका उपकुलपति प्राडा बरालले पदवहाली भएको दुई दिनमा रजिस्टारमा कांग्रेस र रेक्टरमा माओवादी निकटका प्राध्यापकलाई नियुक्त गर्नुभएको हो।
फागुन ११ गते पदवहाली भएका उपकुलपति प्राडा बरालले दुवै जनालाई फागुन १३ गतेबाट लागु हुनेगरी रेक्टर र रजिस्टारमा नियुक्ति गर्नुभएको स्रोतले जनाएको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट