रुसी क्षेत्रमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन

8.5k Shares

किभ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क (रुसी भूभाग)मा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न आह्वान गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको यसअघि आरोप लगाएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सेनाको जीवनरक्षा गर्न पुटिनलाई आग्रह गरेका थिए । आफ्ना राजदूतले प्रस्तावित ३० दिने युद्धविरामबारे रुसका नेतासँग ‘फलदायी’ वार्ता गरेको ट्रम्पले बताएका थिए ।

गएको अगस्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः खोस्दै रुसले विगत एक हप्तादेखि कुर्स्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र प्रतिकार गरेको छ । कुर्स्कमा भएको हार युक्रेनको तीन वर्ष लामो युद्धका निम्ति शान्तिवार्तामा महत्त्वपूर्ण ‘बार्गेनिङ’का रूपमा यो क्षेत्रमा आफ्नो पकड प्रयोग गर्ने योजनामा ठूलो धक्का हुनेछ ।

रुसी टेलिभिजनमा प्रसारित सम्बोधनमा पुटिनले भने, “हामी अमेरिकी राष्ट्रपति ट्रम्पको आह्वानप्रति सहानुभूति राख्छौँ ।”

उनले थपे, “यदि, उनीहरू (कुर्स्कमा रहेका युक्रेनी सैनिक)ले हतियार त्यागेर आत्मसमर्पण गरे भने उनीहरूलाई जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुनेछ ।”

ट्रम्पले युक्रेनका हजारौँ सैनिकलाई रुसी सेनाले पूर्ण रूपमा घेरेको र निकै खराब र कमजोर अवस्थामा रहेको बताएका छन् ।

उनले भने, “मैले राष्ट्रपति पुटिनलाई उनी (रुसी जमिनमा रहेका युक्रेनी सेना)हरूको जीवनरक्षा गर्न जोडदार अनुरोध गरेको छु । यदि, रुसले त्यहाँ उनीहरूविरुद्ध आक्रमण गरेमा यो एक भयानक नरसंहार हुनेछ, जुन दोस्रो विश्वयुद्धपछि कहिल्यै देखिएको थिएन ।” 

युक्रेनको सैन्य नेतृत्वले उक्त आरोपको खण्डन गरेको छ । युक्रेनका सैन्य जनरल स्टाफले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो युनिटलाई घेरा हाल्ने वा अन्य कुनै खतरा छैन ।”

जेलेन्स्कीले किभमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा अवस्थाबारे थप समीक्षा गर्दै भने, “कुर्स्क क्षेत्रको अवस्था पक्कै पनि धेरै कठिन छ, तर अभियानको अझै पनि महत्त्व छ ।”

उनले पोक्रोभ्स्कमा नियन्त्रण कायम राख्न लडिरहेका युक्रेनी सेनामाथिको दबाब कम गर्दै रुसलाई अग्रपंक्ति रहेका अरू क्षेत्रबाट सैनिक फिर्ता बोलाउन बाध्य पारिएको बताए ।

सम्बन्धित समाचार