ललितपुर । एक हप्ता अगाडिदेखि गोदावरी नगरपालिका वडा नं.११ चापागाउँको बज्रबाराही मन्दिरको प्रांगणमा संचालित निम्न वर्गलाई लक्षित गरी संचालित ‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउ’ नाराका साथ संचालित ‘फुड बैंक’ प्रहरीले बन्द गराउन खोजे पनि मेयर गजेन्द्र महर्जनको पहलमा निरन्तरता दिने कार्य भएको छ ।
विश्वलाई नै चुनौति दिएको कोरोना भाइरसका कारण सरकार गरेको झण्डै दुई हप्ता अगाडिदेखि निषेधाज्ञा जारी छ ।
सरकारको निषेधाज्ञापछि दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका निम्न वर्गका मानिसहरु रोगले भन्दा पनि भोकले मर्ने भय सिर्जना हुने अवस्था देखिन थालेपछि नेका खेलकुद विभागका सचिव तथा महासमिति सदस्य मीन कृष्ण महर्जनको सक्रियतामा ललितपुर क्षेत्र नं.१ तरुण दलद्वारा ‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउ’ नाराका साथ संचालित ‘फुड बैंक’ बाट निम्न बर्गका एक सय परिवार प्रत्यक्ष रुपमा लाभान्वित हुँदै आइरहेका छन् ।
यसरी तल्लो वर्गलाई लक्षित गरी संचालित ‘फुड बैंक’लाई एक हप्तापछि एक्कासी प्रहरीले स्थानीयको विरोध भएको भन्दै बन्द गर्ने प्रयास गरेको छ । तर, तल्लो वर्गलाई लक्षित गरी संचालित ‘फुड बैंक’ एक्कासी प्रहरीले बन्द गराउने प्रयास गरेपछि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीलगायतका जनप्रतिनिधिहरुको प्रत्येक्ष पहलमा निम्न वर्गलाई लक्षित गरी खाद्यान्न सामाग्री तिरण गर्दै आएको ‘फुड बैंक’लाई निरन्तरता दिने कार्य गरेका छन् ।
झण्डै दुई हप्ता अगाडिदेखि सरकारले जारी गरेको निषेधाज्ञाका कारण दैनिक ज्यालदारी गरी जिविकोपार्जन गर्दै आइरहेका एक सय परिवारले ‘फुड बैंक’ कार्यक्रमबाट प्रत्येक दिन चामल दुई किलो, दाल, मस्यौरा, तेल, नुनलगायतका दैनिक उपभोग्य सामाग्रीहरु प्राप्त गर्दै आइरहेको कार्यक्रमका संयोजक अनिल श्रेष्ठले खोजतलासलाई बताए ।