विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिने तयारी गरेका छन् । त्यसअघि उनले दिउँसो १२ः३० बजे बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने बताइएको छ ।
आचार्यले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि आज (सोमबार) प्रदेशसभा बैठक आह्वान गरिएको छ । आचार्यले प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले बतायो । स्रोतका अनुसार प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना नरहेपछि उनी राजीनामा दिने तयारीमा पुगेका हुन् ।
राजीनामा दिने कि विश्वासको मत लिनेभन्ने विषयमा उनले सत्तारुढ दल एमालेका नेताहरुसँग परामर्श एवं छलफल गरेका छन् । त्यसक्रममा एमाले नेताहरुले विश्वासको मत पाउने सम्भावना नरहेको भन्दै राजीनामा दिँदा उपयुक्त हुने सुझाव आचार्यलाई दिएको स्रोतले बतायो ।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्तारुढ एमालेसँग ४१ सांसद छन् । सांसद संख्या अपर्याप्त रहेपछि आचार्यले विश्वाको मत पाउने सम्भावना नरहेको बताइन्छ । एमाले सचिव आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका हुन् ।
विपक्षी गठबन्धनसँग ५० सांसद रहेको छ । कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपासमेतको गठबन्धनले नेकपा (एस)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीको रूपमा अघि सारेको छ । गठबन्धनको आइतबार बसेको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने निर्णय लिइसकेको छ ।