काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले लोकतान्त्रिक गणतन्त्रले नेपालमा विद्यमान समस्याको समाधान गर्न सक्दैन भन्ने कुरा गत दुई दशकका घटनाक्रमले राम्रोसँग पुष्टि गरिसकेको बताएको छ । यद्यपि, लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र भएको र राजतन्त्र हुनसक्ने पार्टीले ठहर गरेको हो ।
कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’ ले एक विज्ञप्ति जारी गर्दै नेपालका सबै अग्रगामी र क्रान्तिकारी शक्तिहरूलाई नेपालमा जनगणतन्त्र स्थापना गर्नका लागि एकताबद्ध भएर सङ्घर्षको बाटोमा अगाडि बढ्न आह्वान गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राजावादीहरूको विरोध जुलुसमा ज्ञानेन्द्र शाहको फोटोको समकक्षमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन गरिएको घटनाले उनीहरूको नक्कली राष्ट्रवादको पर्दाफास गरेको छ । २४० वर्ष लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य कुनै लहडमा होइन ऐतिहासिक आवश्यकताले भएको हो । त्यसकारण यो उल्टिन सक्दैन ।’