काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोध गरेको छ ।
नेविसंघका अध्यक्ष राजिब ढुंगानाले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्दा ढुवानी खर्च पनि बढ्ने र उपभोग्य सामाग्रीको समेत मूल्यबृद्धि हुने भन्दै निर्णय खारेज गर्न माग गरेका हुन् ।
अध्यक्ष ढुंगानाले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धी तत्काल खारेज गरी आयल निगम भित्रको बेथिति, अनियमितता र भ्रष्टाचारको छानविन गर्न समेत माग गरेका छन् ।
साथै नेविसंघले आयल निगमसॅग बिभिन्न नाममा संचित कोषहरुको सदुपयोग गरी जनतालाई राहत दिने काममा लाग्न माग गरेको छ ।
निगमले शुक्रबार रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो । जसअनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ । योसँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय पुगेको निगमले जनाएको छ ।
त्यस्तै आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुर्याउने निर्णय भएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर ८५३ पुगेको छ ।