काठमाण्डौ – आजदेखि मौसममा पूर्ण सुधार आएको छ । काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा घाम लागेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अब तत्काल पानी पर्ने सम्भावना पनि नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ । घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन पनि उहाँको सुझाव छ ।
हिउँद सुक्खा भएर बित्नै आँटेका बेला गएको तीन दिन देशका धेरै ठाउँमा वर्षा र हिमपात भयो । पहाडका त धेरैजसो ठाउँमा नै पानी पर्यो । त्यस्तै उच्च क्षेत्रमा हिमपात हुँदा किसान उत्साहित भएका छन् ।
यो हिउँदमा लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न लागेका थिए । वर्षा र हिमपात भएका ठाउँमा विशेषगरी गहुँ, जौ, उवालगायतका अन्नबाली, तरकारी/फलफूललाई थोरै भए पनि राहत पुगेको कृषि विज्ञ बताउँछन् ।