कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाँणलाई

17.4k Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले सम्हाल्ने भएका छन् । उनले आजदेखि नै जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

सरकारको वरिष्ठ मन्त्री भएकाले देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्री बनाएका हुन् । यससम्बन्धी पत्र देउवाले बिहीबार नै राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् ।

स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी वर्ल्ड लिडर समिटमासहभागी हुन देउवा त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री भइसकेपछि देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । जलवायु परिवर्तन सम्बन्धी उक्त समिटमा प्रधानमन्त्री देउवासहित १८ जनाको प्रतिनिधिमण्डल रहने बताइएको छ ।

प्रधानमन्त्री सचिवालयबाट प्रतिनिधिमण्डलमा कोही नपर्ने बताइएको छ । प्रधानमन्त्री देउवाले आफ्नो सचिवालयमा घोषित रुपमा कसैलाई नियुक्त नगरेकाले उक्त भ्रमणमा नसमेटिएको बताइएको छ ।

प्रधानमन्त्रीको विदेश भ्रमणमा क्रममा परराष्ट्र सल्लाहकार पनि सँगै जाने परम्परा थियो । देउवाले परराष्ट्र सल्लाहकारमा कसैलाई नियुक्ति हालसम्म गरेका छैनन् । जलवायु परिवर्तन सम्बन्धी समिटलाई ध्यानमा राखेर तत्काल परराष्ट्र सल्लाहकार नियुक्त गर्ने सम्भावना नरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । शुक्रबार बिहान देउवा त्यसतर्फ उड्ने भएकाले परराष्ट्र सल्लाहकारको नियुक्तिको लागि देउवाले हतार नगर्ने भएका छन् ।

देउवाको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय यादव संलग्न हुने भएका छन् । उक्त टोलीमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा पेम नारायण कँडेल परेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधव कार्की पनि प्रधानमन्त्रीको टोलीमा सहभागी हुने भएका छन् । वन मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन सम्बन्धी विभागका प्रमुख पनि टोलीमा पर्ने बताइएको छ ।

परराष्ट्रका प्रोटोकल चिफ र प्रोटोकल शाखाकै अर्का एक गरी दुई जना उक्त प्रतिनिधिमण्डलमा पर्ने भएका छन् । प्रधानमन्त्रीको सुरक्षामा खटिन ६ जना सुरक्षाकर्मी उनीसँगै जाने भएका छन् । शुक्रबार साँझ लन्डनमा उत्रने प्रधानमन्त्रीले अर्को दिन बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने बताइएको छ । जलवायु परिवर्तन सम्बन्धी समिटका लागि उनी अक्टोबर ३१ तारिखमा लण्डनबाट ग्लास्गोतर्फ प्रस्थान गर्ने भएका छन् । जलवायु परिवर्तन सम्बन्धी समिटमा देउवाले दुई दिन भाग लिने भएका छन् । नोभेम्बर १ र २ तारिखमा देउवा ग्लास्गोमा रहने भएका छन् ।

कांग्रेसको विदेशस्थित शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले बेलायतमा उनको स्वागतमा कार्यक्रम गर्ने भएको छ।  कांग्रेस कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग प्रधानमन्त्रीले अन्तरक्रिया गर्ने भएका छन् । प्रधानमन्त्री देउवा नोभेम्बर ३ मा नेपाल फर्कने कार्यतालिका बनेको छ ।

अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तन सम्बन्धी समिट हुने भएको छ । युएन एफसीसीसीका सदस्य रहेका देशहरुको उक्त सम्मेलनमा सहभागिता रहनेछ । यसअघि २०१९ मा जलवायु परिवर्तन सम्बन्धी समिट भएको थियो । यसपटक बेलायत र इटाली आयोजक बनेर सम्मेलन आयोजना गरेका छन् ।

उक्त सम्मेलनलाई कोप २६ समिटनाम दिइएको छ । उक्त सम्मेलनमा शक्तिशाली राष्ट्रका नेताहरु पनि सहभागी हुनेछन् ।

सम्बन्धित समाचार