स्थगित एमसीसी परियोजनाको लप्सीफेदी सबस्टेसन निर्माण धमाधम

11.3k Shares

काठमाडौं । अमेरिकाले एमसीसी परियोजना ९० दिनका लागि स्थगित राखेका र अर्थ मन्त्रालयले एमसीसी फन्डबाट हुने सबै भुक्तानी रोकेका बेला नेपाल विद्युत् प्राधिकरणले भने एमसीसी परियोजनाअन्तर्गतको काम धमाधम अघि बढाएको छ ।

स्थानीय बासिन्दाले उठिबास हुने भन्दै पटकपटक अवरुद्ध गर्दै आएको काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माणको कार्य धमाधम भइरहेको हो ।

तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधिमा आधारित ४००–२२०, २२०–१३२ र १३२–११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन रहेको विद्युत् प्राधिकरणले जनाएको छ । सबस्टेसन निर्माण आगामी वर्षको पुसभित्र सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले राखेको छ ।

स्थानीय समस्याका बाबजुद करिब १ वर्षअघि सुरु भएको सबस्टेसन निर्माण हाल पूर्ण रूपमा (फुल फेज)मा भइरहेको बताइएको छ ।

करिब १ सय ७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब हो ।

मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नुपर्ने माग राख्दै केही स्थानीयबाट सबस्टेसन निर्माणमा लामो समयदेखि अवरोध हुँदै आएको थियो । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको र प्रारम्भिक वातावरणीय परीक्षण(आईई) तथा पूरक आईईलगायतका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी उपलब्ध विकल्पहरूमध्ये सबैभन्दा उत्तम बोझिनीलाई सबस्टेसन निर्माणस्थल छनोट गरिएको प्राधिकरणको भनाइ छ । स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गर्दै सबस्टेसन निर्माण भइरहेको बताइएको छ ।

खिम्ती–बाह्रबिसे–लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००–२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जीआईएसका उपकरणहरू रहने भवनलगायतका सिभिल संरचनाहरूको निर्माण करिब ४० प्रतिशत सकिएको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएस, कन्ट्रोल प्यानललगायतका सम्पूर्ण उपकरणको आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ । आयोजनाअन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेसन पनि निर्माणाधीन छन् ।

तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत २२०–१३२ र १३२–११ केभी तहका सबस्टेसनका सिभिल संरचनाहरूको निर्माण ५० प्रतिशत सकिएको छ । उपकरणहरूको आपूर्ति ९८ प्रतिशत भइसकेको र सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएपछि सबस्टेसनमा उपकरणहरूको जडान सुरु हुने प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।

‘स्थानीयबाट सडक मर्मत तथा विस्तार, खानेपानी आयोेजना, विद्यालय भवन, खेलमैदान, गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतमा राखिएका जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सम्बोधन गरिरहेका छौं, गर्दै जानेछौं,’ घिसिङले भने । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार