नवलपरासी – विगत केही दिनदेखि जारी अत्यधिक शीतलहर र बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने क्षेत्र पूर्ण रूपमा प्रभावित भएको छ।
चिसोका कारण सडक चिप्लो र हिलाम्य भएपछि सवारी साधनहरू उकालोमा उक्लिन नसक्दा खुर्सानी खोला क्षेत्रमा ठूलो जाम लागेको छ। जसका कारण सयौँ सवारी साधन र हजारौँ यात्रुहरूले कठ्याङ्ग्रिँदो चिसोमा सडकमै रात बिताउनु परेको छ।
सडक विस्तार र शीतलहरले निम्त्यायो सास्ती
अहिले नारायणगढ–बुटवल सडक विस्तारको काम चलिरहेकाले धेरै ठाउँमा सडक खनिएको छ। शीतलहरको ओसका कारण निर्माणाधीन सडकको माटो हिलाम्य हुँदा सवारी साधनहरू बीच बाटोमै फस्ने र चिप्लिने समस्या देखिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब १५ सय सवारी साधनको लामो लाइन लागेको छ। प्रहरीले जाम हटाउने प्रयास गरे पनि बाक्लो हुस्सुका कारण दृश्यता कम हुँदा उद्धार र सवारी सञ्चालनमा निकै कठिनाइ भइरहेको छ।
वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाको आग्रह
सडक खण्डको अवस्था नाजुक भएपछि नारायणगढ–बुटवल सडक योजनाले आज एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। खुर्सानी खोला क्षेत्रमा हाल ग्राभेल हाल्ने काम भइरहेको र मालबहाक सवारी साधनलाई बर्दघाट तथा भुताहा क्षेत्रमा रोकिएको इन्जिनियर विकास खनालले जानकारी दिनुभयो। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक नियमको पूर्ण पालना गर्न समेत आग्रह गरिएको छ।