गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो सभाहल

8.5k Shares

ठाकुरबाबा– यहाँस्थित बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल  उपयोगमा चासो नदिँदा  निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे बनेको छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल ७० लाख २६ हजारमा निर्माण गरिएको थियो।

दुई सय ४२ वर्गमिटर क्षेत्रफलमा निर्मित तीन सय जना क्षमताको सुविधा सम्पन्न सभाहलमा शौचालय, आराम कक्ष र पोसाक परिवर्तन गर्ने कक्ष रहेको गाउँपालिकाको योजना शाखा उपप्रमुख उमानबहादुर हमालले जानकारी दिए।

गाउँपालिका र निमार्ण कम्पनीबीच भएको सम्झौता अनुसार निर्माण  कम्पनीले काम नगरेको र समयमा हस्तान्तरण नगर्दा सभाहल जीर्ण र बेवारिसे बनेको वडा नं ८ का वडा सदस्य दिल्लीप्रसाद गौतमले बताए। 

जय बागेश्वरी  निर्माण सेवा कम्पनी र बढैयाताल गाउँपालिकाबीच विसं २०७८ जेठ ८ गते ठेक्का  सम्झौता भएको थियो । सम्झौता बमोजिम पूर्ण रूपमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीले  पुनः भत्किएका ठाउँमा मर्मत सुरु गरेको छ ।     

सभाहल उपयुक्त स्थानमा निर्माण नगर्दा महँगो भाडा तिरेर गाउँपालिकाले होटेलमा कार्यक्रम गर्ने गरेको स्थानीयको भनाइ छ । 

सम्बन्धित समाचार