काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताउनुभएको छ ।
नवौं निर्वाचन दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरूले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताउनुभयो ।
‘चुनाव महँगो भएको भन्ने गलत भाष्य निर्माण गरिन्छ भने त्यो राजनीतिक दल र उम्मेदवारहरूको इमानदारितामाथिको प्रश्न हो । निर्वाचन प्रणाली महँगो भयो भन्ने उम्मेदवारहरूलाई मैले सोध्ने गरेको छु– तिम्रो बेइमानीको खास्टो मेरो प्रणालीमाथि ओढाएर ओभानो हुने दुस्साहस नगर्नू’, उहाँले भन्नुभयो ।