काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सडक तथा गल्लीहरूको भौगोलिक सूचना प्रणाली (जीआईएस) मा आधारित नक्शाङ्कनको काम गरिरहेको छ । सडकको सूची तयार गर्न, वैज्ञानिक र मौलिक नामकरण गर्न तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न नक्शाङ्कनकाे काम भइरहेको महानगरले जनाएको छ ।
२०५८ सालमा भएको काठमाण्डाै उपत्यका म्यापिङबाट भएको दुई हजार पाँच सय ७८ वटा पथ, सडक, मार्ग र गल्लीहरूको नामाङ्कन र नक्शाङ्कन अवस्थालाई अद्यावधिक गरिनेछ । नक्शाङ्कनका लागि पाँच जना भौगोलिक सूचना प्रणाली इन्जिनियर र पाँच जना सिनियर सर्भेयर खटिएका छन् ।
यसअघि नक्शा बनाउँदाको अवस्था र अहिलेको अवस्था फरक रहेका कारण नक्शाङ्कनकाे काम थालेको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले बताउनुभयो । वडामा सडक, पथ, गल्ली र चोकको नाम परिवर्तन गर्न माग आइरहेकोले त्यस्ता माग सम्बोधनका लागि वैज्ञानिक तथ्याङ्क चाहिने भएकाले पनि नक्शाङ्कन महन्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।
नक्शाङ्कनको कामबाट सडकको सूची तयार हुनुका साथै सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपत्कालीन द्रुत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ्क हुनेछन् ।