बागलुङमा एचपिभी खोप लगाउन छुटेका किशोरीको खोजी अभियान

8.1k Shares

बागलुङ । बागलुङमा पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियानमा छुट्न सक्ने किशोरीको खोजी अभियान सञ्चालन भएको छ । विशेषगरी घुम्ती बस्ती भएको पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसी र तमानखोला गाउँपालिकामा खोप लगाउने उमेर समूहका किशोरीहरु नछुटुन् भनेर खोज पड्ताल अभियान सञ्चालन गरिएको हो ।

महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय विद्यालयका बाल क्लबले एचपिभी खोप लगाउन छुट्न सक्ने किशोरीहरुको खोजी गरिरहेका छन् । विद्यालयको पहुँचमा भएकाहरु नछुटेका भए पनि कतिपय पहुँचमै नभएकाहरु छुट्न सक्ने भएकाले खोजी भइरहेको ढोरपाटन नगरपालिकाका जनस्वास्थ्य अधिकृत भूमिश्वर शर्माले बताउनुभयो ।

‘‘विद्यालय नपढेका, अपाङ्गता भएका किशोरी पनि नछुटुन् भन्ने हो,’’ शर्माले भन्नुभयो, ‘‘विवाह गरेर गएका किशोरीहरुको पनि खोजी भइरहेको छ ।’’ ढोरपाटन नगर र तमानखोला गाउँपालिकाका अति विकट क्षेत्रमा बालविवाह गर्नेको सङ्ख्या बढी छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार विद्यालयबाहिर रहेका बागलुङ ९७ जना किशोरीले एचपिभीविरुद्धको खोप लगाएका छन् । बागलुङका ४, जैमिनीका ५, गलकोटका १०, ढोरपाटन नगरपालिकाका २२, काठेखोलाका ४, बरेङ र तमानखोलाका १÷१ र बडिगाडका १९ र निसीखोला गाउँपालिकाका ३१ जना किशोरीले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार