जनस्तरबाटै डायलासिस केन्द्रको जमर्को

7.8k Shares

बुटवल । निजी मेडिकल कजेलको चर्को शुल्क तिरेर मिर्गौला डायलासिस गराउने आर्थिक हैसियतमा सबै नागरिक छैनन् । भौतिक संरचना भए पनि सरकारी अस्पतालमा मिर्गौला रोगीले डायलासिस सेवा पाउँदैनन् । आर्थिक रूपमा सम्पन्न नागरिकले भारत गएर भए पनि मिर्गौला प्रत्यारोपण गर्छन् तर विपन्न नागरिक मिर्गौलाको डायलासिसको पालो कुर्दाकुर्दै देहत्याग गर्छन् । 

यही कारुणिक वास्तविकताको अन्त्य गर्न रुपन्देहीका नागरिक स्वतस्फूर्त जुटेका छन् । मिर्गौला रोगबाट पीडित विपन्न नागरिकलाई निःशुल्क डायलासिस सेवा उपलब्ध गराउने उद्देश्यका साथ सेवा केन्द्र स्थापनाको तयारीमा स्थानीयवासीले आर्थिक सङ्कलन अभियान आरम्भ गरेका हुन् । 

निजी स्वास्थ्य संस्थाको महँगो शुल्क र सरकारी अस्पतालमा डायलासिस गर्ने सेवा उपलब्ध नहुँदा पीडा र आहतबाट ग्रस्त मिर्गौलाका बिरामीको हितलाई ध्यानमा राखेरै डायलासिस क्लिनिक स्थापनाको तयारी थालिएको हो । 

सामाजिक अभियन्ता एवं रोटरी क्लब भैरहवाका अध्यक्ष रामप्रसाद पन्थीका अनुसार डायलासिस केन्द्र तथा क्लिनिक सञ्चालन गर्ने उद्देश्यले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरिएको छ । उहाँले महायज्ञबाट सङ्कलित रकम र जग्गा प्राप्त भएको र तत्कालै भवन निर्माण कार्य आरम्भ गरिने बताउनुभयो । 

अध्यक्ष पन्थीले महायज्ञबाट नगद ६२ लाख रुपियाँ सङ्कलन भएको र दुई करोड बराबरको जग्गा दानमार्फत प्राप्त भएकाले अब आफूहरूको उद्देश्य अनुसार डायलासिस केन्द्र तथा क्लिनिक भवन बनाइने बताउनुभयो । उहाँका अनुसार डायलासिस केन्द्र तथा क्लिनिक बनाउन पाँच करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । 

उहाँले भन्नुभयो, “रुपन्देहीमा मिर्गौला रोगीको सङ्ख्या बर्सेनि बढ्दो छ तर डायलासिससम्म पनि गराउन समस्या भएकाले ओमसतिया गाउँपालिकामा महायज्ञ गरेरै आर्थिक स्रोत जुटायौँ । अब निर्माण सुरु गर्छौं । एक दिनमा २० जनाको डायलासिस गर्ने गरी भवन निर्माण गर्दै छौँ । पैसा हुनेले डायलासिसको शुल्क दिन सक्ने र विपन्नले निःशुल्क सेवा लिन सक्ने गरी काम अघि बढाएका हौँ ।”

उहाँले सिद्धार्थनगर नगरपालिकामा दुई स्थान र ओमसतिया गाउँपालिकामा जग्गा प्राप्त भएको र तीनमध्ये एक स्थानमा डायलासिस सेवा केन्द्र स्थापना गरिने बताउनुभयो । उहाँका अनुसार रोटरी क्लब अफ भैरहवा र सर्वेश्वर महादेव शिव मन्दिरले आयोजना गरेको महायज्ञमा सहभागी महामण्डेश्वर सिद्धयोगी स्वामी बाबा कालीदासले पाँच लाख रुपियाँ प्रदान गर्नुभयो । 

उहाँले डायलासिस केन्द्र स्थापना भएपछि च्यारिटीमार्फत थप रकम सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मस्थल भारतबाट यहाँ आएर आर्थिक सहयोग गर्न पाएँ । नेपालीको सेवा गर्नु मेरो दायित्व हो । त्यसैले थप सहयोग गर्छु । यथाशीघ्र भवन निर्माण गरी सेवा सुरु गर्नुहोस् ।” आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार