नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय सार्वजनिक स्थानमा फोहोर फाल्ने पसल, फर्म, संस्था र व्यक्तिमाथि कडा निगरानी गर्दै आएको छ । उपमहानगरपालिकाले नगरका कुनैपनि सार्वजनिक स्थानमा कुनै प्रकारको फोहोर फाल्नेहरुमाथि कडाई गर्दै जरिवाना गरेको हो।
यसैक्रममा नेपालगन्जको सुनगाभा स्वास्थ्य सरोकार केन्द्रले स्वास्थ्यजन्य फोहोर जथाभावि फालेको पाएपछि सो संस्थालाई कारवाही गरेर २५ हजार रुपियाँ जरिवाना गरिएको छ । नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले नेपालगन्जलाई सफा राख्न तथा अनावश्यक फोहोर गर्नेहरुलाई नियन्त्रण गर्न कडाई सुरु गरि ठाउँका ठाउँमा जरिवाना असुल गर्ने कार्य भइरहेको बताउनुभयो ।
नेपालगन्ज उपमहनगरका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सुर्य बोगटीले सार्वजनिक स्थानमा फोहोर फालेकोले सुनगाभालाई जरिवाना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाले सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधीजन्य फोहोर फाल्ने वडा नम्बर १० शितलनगरस्थित सो सुनगाभा केन्द्रलाई २५ हजार रुपियाँ जरिवाना तिराईएको छ ।