हेटौँडा । उच्च अदालत पाटन हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साइटमा फोहोर फाल्न निषेधाज्ञा जारी गरेसँगै बिहीबारबाट हेटौँडा उपमहानगरपालिकाले फोहोर नउठाउने भएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै फोहोर नउठाउने जानकारी दिएको हो ।
हेटौँडा–१०, राप्तीतटस्थित डम्पिङ साइटको व्यवस्थापन हुन नसकेको, डम्पिङ साइटमा आगलागी भएर वातावरण प्रदूषण भएको भन्दै योगेन्द्रप्रसाद उपाध्यायले दायर गर्नु भएको रिट निवेदनमा उच्च अदालत पाटन हेटौँडाका न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले मङ्गलबार निषेधाज्ञा जारी गर्नुभएको थियो ।
हेटौँडा उपमहानगरपालिका र फोहोर व्यवस्थापनमा हेटौँडा उपमहानगरसँग सहकार्य गर्दै आएको ग्रीन एण्ड क्लिन सर्भिसेज नेपालविरुद्ध उपाध्यायले रिट निवेदन दर्ता गराउनुभएको थियो । न्यायाधीश भट्टराईको इजलासले माघ २९ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन र हाललाई डम्पिङ साइटमा फोहोर नफाल्न आदेश जारी गरेको हो ।