एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा इङ्ल्यान्डले पहिलो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा इङ्ल्यान्डले डेनमार्कसँग १–० को हार व्यहोरेको हो ।
इङ्ल्यान्डको घरेलु मैदान वेम्ब्ले स्टेडियममा भएको खेलमा घरेलु टोली खेलको पहिलो हाफमा नै दस खेलाडीमा समेटिएको थियो । खेलको ३१ औं मिनेटमा इङ्ल्यान्ड दस खेलाडीमा समेटिएको थियो ।
इङ्ल्यान्डका ह्यारी मगुइरेले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली दस खेलाडीमा समेटिएको थियो । खेलको पाँचौ मिनेटमा नै पहिलो पहेँलो कार्ड खाएका मगुइरेले ३१ औं मिनेटमा दोस्रो पहेँलो कार्डसहित रातो कार्ड खाएका थिए ।
त्यसको चार मिनेट नबित्दै पाहुना टोली डेनमार्कले खेलका अग्रता लियो । ३५ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा डेनमार्कका क्रिस्टिएन एरिक्सनले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।
तर, दोस्रो हाफमा भने डेनमार्कले दस खेलाडीमा समेटिएको इङ्ल्यान्डमाथि फाइदा उठाउन सकेन । खेलमा इङ्ल्यान्ड टोली नौ खेलाडी समेटिदै खेलको अन्त्य गरेको थियो । खेलको इन्जुरी समयमा इङ्ल्यान्डका रिस जेम्सले सोझै रातो कार्ड पाएपछि खेलको अन्तिम समयमा इङ्ल्यान्ड नौ खेलाडीमा समेटिएको थियो ।
जितसँगै डेनमार्क चार खेलबाट सात अंक जोड्दै समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक जोडेको इङ्ल्यान्ड गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।