काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशको एकदुई ठाउँमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशको हिमाली भूभागको थोरै स्थान र पहाडी भूभागको केही स्थानमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान तथा मधेस लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।