काठमाण्डौ। आजभन्दा डेढ सय वर्षअघिसम्म शहरबजारमा चियापसल भेटिनु त परको कुरा, चियाको स्वाद थाहा पाएका नेपालीहरुसमेत भेटिँदैन थिए ।
त्यतिबेला राणाहरुले बल्ल चिया पिउन जानेका थिए । उनीहरुको दरबारमा मात्रै चिया पाक्थ्यो । दरबारमा काम गर्न जानेहरुले चियाको स्वाद थाहा पाएपछि मात्रै बिस्तारै घरघरमा चिया पकाउने चलन शुरू भयो । नेपालमा चिया खेती पनि राणाहरुकै पालामा शुरू भयो । चिया खेती शुरू हुनु पहिले नै नेपालीले चियाको स्वाद पाउन थालेको इतिहास छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता तथा निर्देशक डा.दिपक खनालका अनुसार आजभन्दा एकसय ६० वर्षअघि वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा चीन भ्रमणमा गएका बेला चिनिया सम्राटले उपहारस्वरूप दिएको चियाको बीउ नेपाल ल्याएको पाइन्छ ।