चितवन : भारतीय र चिनियाँ नागरिकका १० वटा कम्पनीबाट झन्डै २० करोड राजस्व उठ्न बाँकी

8.9k Shares

चितवन – भारतीय र चिनियाँ नागरिकले जिल्लामा लगानी गरेका १० वटा कम्पनीले झन्डै २० करोड रुपैयाँ राजस्व नतिरेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले असूलीका लागि ताकेता शुरू गरेको छ । राजदूतावासको सिफारिशमा राजस्व कार्यालयमा दर्ता भएका ती कम्पनीमध्ये एउटा चिनियाँ नागरिकको र नौ वटा भारतीय नागरिकले सञ्चालन गरेका कम्पनी हुन् । ती कम्पनीको १९ करोड ८८ लाख रुपैयाँ राजस्व बक्यौता रहेको छ । १० लाख रुपैयाँभन्दा बढी राजस्व बुझाउनुपर्ने भएपछि कार्यालयले राजस्व विभागमा पत्राचार गरेको छ ।

कार्यालयका कर अधिकृत युवराज खड्काका अनुसार ती कम्पनीको राजस्व उठाउने विषयमा माघ पहिलो हप्ता विभागलाई पत्राचार गरिएको हो । पटक पटक ताकेता गर्दा पनि सञ्चालक सम्पर्कमा नआएपछि विभागलाई पत्राचार गरिएको हो ।

चिनियाँ नागरिकले सञ्चालन गरेको चाइना सिचुवान इन्टरनेशनल कर्पोरेशन कम्पनीले १९ लाख रुपैयाँ आयकर बुझाउन बाँकी रहेको छ । अन्य नौ वटा भारतीय नागरिकद्वारा सञ्चालित कम्पनीले १९ करोड ६९ लाख रुपैयाँ राजस्व बुझाउन बाँकी रहेको छ । जसमध्ये पाँच करोड ६२ लाख मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको हो भने १४ करोड ६ लाख रुपैयाँ राजस्व आयकरतर्फको रहेको खड्काले जानकारी दिनुभयो । दैनिक रूपमा जरिवाना र ब्याज बढ्ने हुँदा दिनानुदिन रकम थपिँदै गएको छ ।

विदेशी नागरिकले यहाँ कम्पनी दर्ता गरेर काम गर्दा पासपोर्ट, राजदूतावासबाट ल्याइएको पत्र र केही रकम धरौटी राखेर काम गर्ने गर्दछन् । उनीहरूको अचल सम्पत्ति पनि यहाँ नहुने र कतिपयले बैंकिङ कारोबार पनि नगर्ने गर्दा राजस्व उठाउन कठिन भएको उहाँले जानकारी दिनुभयो । खड्काका अनुसार बक्यौता असूल गर्न कठिन भएपछि विभागसँग आवश्यक निर्देशन मागिएको हो । यस्ता कम्पनीहरू धेरैजसाेले कबाडी सङ्कलन गर्ने रहेका छन् ।

१० वटा कम्पनीमध्ये सबैभन्दा बढी नवदुर्गा ट्रेडर्सले १४ करोड ६८ लाख ५५ हजार तीन सय ४५ रुपैयाँ राजस्व बुझाउन बाँकी रहेको छ । भारतीय नागरिक विजली चौधरीका नाममा रहेको याे कम्पनीले आर्थिक वर्ष ०७५/७६ र ०७३/७४ को आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) रकम राजस्व बुझाउन बाँकी रहेको हो ।

सम्बन्धित समाचार