चितवन – चितवनको भरतपुर महानगरपालिकाले पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिएको छ । भरतपुर महानगर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक दुई हजार रुपैयाँका दरले आवासीय भत्ता उपलब्ध गराइएको हो ।
महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गएको आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकोमा चालू आर्थिक वर्षमा १२ महिनाकै भत्ता उपलब्ध गराइनेछ । गएको वर्ष ३३ जना शिक्षकले भत्ता सुविधा पाएका थिए ।
शिक्षा महाशाखाका प्रमुख आचार्यका अनुसार भरतपुर–२९ मा ११ विद्यालय रहेकामध्ये राजमार्गसँगै रहेको कविलास माविबाहेक १० विद्यालयका भाडामा बस्ने शिक्षकलाई यो सुविधा दिइएको हो । भरतपुर–२९ मा दुई वटा माध्यमिक विद्यालय छन् । तीमध्ये कविलासमा पढाउने शिक्षकले भत्ता नपाउने भएपछि एक माध्यमिक विद्यालय र बाँकी आधारभूत विद्यालयका शिक्षकले सुविधा पाउने भएका हुन् ।