आमाको माया र छोराको संघर्षको कथा बोकेको ‘सारथि’को ट्रेलर सार्वजनिक

558 Shares

काठमाडौं– आमाले छोराका लागि कति संघर्ष गर्न सक्छिन् ? जीवनका हरेक कठिन मोडमा छोराको सहारा बनेर उभिने एउटी आमाको यही मर्मस्पर्शी कथा लिएर नेपाली फिल्म ‘सारथि’ दर्शकमाझ आउने भएको छ । कुमार गजुरेल निर्देशित फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको कथावस्तु र पात्रलाई लिएर दर्शकमाझ चासो बढेको छ ।

नयाँ बानेश्वरस्थित एनबी सेन्टरको इनि सिनेमामा आयोजित कार्यक्रममा सार्वजनिक ट्रेलरले म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण जीवनशैलीसँगै आमा र छोराबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ । ट्रेलरमा निरुता सिंह छोराको जीवनको हरेक उतारचढावमा साथ दिने आमाको भूमिकामा देखिएकी छन् । 

त्यस्तै, गिरी विश्वकर्माले छोराको भूमिका निर्वाह गरेका छन्। उनीहरूको अभिनयले आमाछोराबीचको माया, जिम्मेवारी र संघर्षलाई भावुक रूपमा प्रस्तुत गरेको छ ।

लामो समयपछि पर्दामा फर्किएका अभिनेता उत्तम प्रधान र नवअभिनेत्री गायत्री जोशीलाई भने ट्रेलरमा केही रहस्यमयी रूपमा प्रस्तुत गरिएको छ। यसले फिल्मको कथामा उनीहरूको भूमिका कस्तो होला भन्ने जिज्ञासा पनि जगाएको छ।

निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको फिल्मको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। फिल्ममा निरुता, उत्तम, गिरी र गायत्रीसहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायत कलाकारको अभिनय छ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्मित फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। संकल्प भुजेलको छायांकन रहेको फिल्ममा समिक बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ। ‘सारथि’ यही मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार