वनमै कुहिन थाल्यो काठ

9.4k Shares

तानसेन । कालीगण्डकी विद्युत् प्रसारण लाइन बनाउँदा काटिएका काठ कुहिने अवस्थामा पुगेको छ । पटक पटक बिक्रीका लागि सूचना प्रकाशन गर्दासमेत टेन्डर प्रक्रिया अगाडि बढ्न नसक्दा एक करोड ५० लाख रुपियाँभन्दा बढी मूल्य पर्ने विभिन्न प्रजातिका काठ कुहिने अवस्थामा पुगेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा काटेको काठ तीन वर्षमा पनि बिक्री हुन नसकेको स्थानीय वीरबहादुर बाह्रघरेले बताउनुभयो । विद्युत् प्रसारण लाइन बनाउँदा काटेका काठ बिक्री नहुँदा जङ्गलमै कुहिन लागेको उहाँले बताउनुभयो । स्थानीय बासिन्दाको संरक्षणमा हुर्किएको सामुदायिक वनको काठ बिक्री नहुँदा वन उपभोक्ता समूह र राज्यलाई राजस्वमा घाटा लागेको उहाँको भनाइ छ । 

डिभिजन वन कार्यालयका अनुसार प्रसारण लाइन बनाउँदा काटेका तीन हजार ८१९ क्युफिट ‘ए’ ग्रेडका रहेका छन् । यस्तै अन्य ‘बी’, ‘सी’ र ‘डी’ ग्रेडका २० हजार क्युफिटभन्दा बढी काठ कुहिने अवस्थामा पुगेको छ । एक वर्षभित्रै बिक्री हुनुपर्ने काठ तीन वर्षसम्म बिक्री नहुँदा धमिरा लाग्न थालेको छ भने कतिपय काठ चोरिएको स्थानीय बासिन्दा बताउँछन् । 

काठ बिक्रीका लागि तीन पटकसम्म सूचना प्रकाशन गर्दासमेत कसैको निवेदन नपरेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङले बताउनुभयो । “पटक पटक सूचना प्रकाशन गर्दा पनि कुनै पनि व्यवसायीले काठ चाहिने भनेर निवेदन दिनुभएको छैन,” उहाँले भन्नुभयो, “पुनः सूचना प्रकाशन गर्ने तयारीमा छौँ ।” त्यहाँ निस्केको काठ सानो र ढुवानी खर्च बढी लाग्ने भएकाले पनि व्यवसायीको निवेदन नपरेको हुन सक्ने वन कार्यालयका कर्मचारीको भनाइ छ । 

सम्बन्धित समाचार